काठमाडौं । नेकपा (एमाले) मा पछिल्लो समय गुटबन्दी र आन्तरिक विवाद तीव्र बन्दै गएको छ । नेताहरूको प्रतिशोध र निषेधपूर्ण राजनीतिक लडाइँले कार्यकर्ताहरू विभाजितमात्रै होइन, भौतिक आक्रमणमै उत्रिने अवस्थामा पुगेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई बलियो बनाउने नाममा नेताहरूले पार्टी र जनसंगठनका अधिवेशनमा गुट बनाएर आपसी भिडन्त सुरु गरेका छन् । २०७८ मा माधवकुमार नेपालले पार्टी फुटाएर गएपछि एमालेमा ओलीको एकछत्र राजा थियो । तर, ओलीको मनोमानी कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएपछि पार्टीभित्र विद्रोह सुरु भएको छ ।

कतिपय नेताहरूले ओलीको विकल्प खोज्न थालेका छन् । यसै क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने प्रयास भइरहेको छ । भण्डारी पनि उपयुक्त समयको पर्खाइमा रहेकी छन् ।
देशको अभिभावकीय भूमिका निर्वाह गरिसकेकी पूर्वराष्ट्रपति भण्डारीको संगठनात्मक गतिविधि र सार्वजनिक कार्यक्रममा सक्रियता बढेसँगै ओली पक्षधर नेताहरूमा चिन्ता बढेको छ । ओलीले भण्डारीको सक्रियतालाई आफ्नो नेतृत्वमाथिको चुनौतीका रूपमा लिएका छन् । उनले एमाले आफूबिना १५–२० वर्षसम्म चल्न नसक्ने दाबी गर्दै नेतृत्वको विकल्प खोज्न नहुने चेतावनी बारम्बार दिँदै आएका छन् ।
ओलीको विकल्प खोज्ने प्रयास सुरु भएसँगै नेताहरू प्रदेश, जिल्ला र जनसंगठनमा आफ्नो प्रभाव जमाउन लागिपरेका छन् । यसले तल्लो तहका अधिवेशनमा हिंसात्मक घटना बढाएको छ । पछिल्लो एक सातामा ताप्लेजुङ, धनुषा र पर्वतका अधिवेशनमा दुई समूहबीचको झडपले हिंसात्मक रूप लिएको छ ।
पर्वतमा नेताको टाउको फुट्यो
पर्वत एमालेको पार्टी कार्यालयमा बुधबार युवा संघको अधिवेशनलाई लिएर दुई पक्षबीच झडप भयो । एमाले पर्वत जिल्ला कार्यालयमा गर्ने भनिएको अधिवेशन एक पक्ष गर्ने र अर्को पक्ष नगर्ने भन्ने विषयमा विवादपछि कुटाकुटको अवस्था सिर्जना भएको हो । दुई पक्षबिच भएको कुटाकुटमा एमाले प्रदेश समिति सदस्यसमेत रहेका युवा संघका पूर्वकेन्द्रीय सदस्य अर्जुन पौडेल र ध्रुव श्रेष्ठ घाइते भएका छन् ।
धारिलो हतियारको प्रहारले टाउकोमा गहिरो चोट लागेका पौडेलको टाउकोमा सातवटा टाँका लगाइएको छ । उनीहरूको स्थानीय शान्तिदीप अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र पूर्वमन्त्री पदम गिरीको प्रतिशोधपूर्ण राजनीतिक लडाइँले एमाले पर्वतका कार्यकर्ता नै विभाजित भएका हुन् ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूह बीचको लडाइँले पनि पर्वतको आन्तरिक विवादमा मलजल गरिरहेको छ । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र पृथ्वीसुब्बा गुरुङ एउटा कित्तामा छन् भने पूर्वमन्त्री पदम गिरी र खगराज अधिकारी समूह अर्को कित्तामा रहेर गतिविधि गरिरहेका छन् । यही गुटगत लडाइँका बीच युवा संघ पर्वतको अधिवेशन गर्ने कि नगर्ने भन्ने विवादले उग्ररुप लिँदा झडप भएको हो ।
धनुषा अधिवेशन स्थगित
एमाले धनुषाको आठौँ जिल्ला अधिवेशन दुई पक्षको विवादका कारण मंगलबार नै अनिश्चितकालका लागि स्थगित भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा जारी अधिवेशनमा उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएपछि दुई पक्षबिच विवादले उग्र रूप लिँदा झडप भएको थियो ।
झडपमा अध्यक्ष पदका उम्मेदवार भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास घाइते भएका छन् । महासेठ पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठका दाजु हुन् । अर्को समूहका राजकिशोर यादव, लव अधिकारीमाथि कुटपिट गरिएको भएको थियो । झडपका क्रममा निर्वाचन समितिको कक्षमा रहेको कम्प्युटर, फोटोकोपी मेसिनसहित तोडफोड भएको छ ।
ताप्लेजुङमा पनि कुटाकुट
यही वैशाख १९ गते राष्ट्रिय युवासंघ नेपाल ताप्लेजुङको जिल्ला अधिवेशनमा पनि दुई समूहबिच कुटाकुट भयो । केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको अधिवेशनमा विवाद भएपछि नयाँ समिति चयन प्रक्रिया रोकिएको थियो ।
बन्दसत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीको लागि नाम सूची तयार गरेर अध्यक्षमण्डलको तर्फबाट एकलौटी कमिटी घोषणा गर्न खोजिँदा विवाद भएर कुटाकुट भएको थियो ।
ताप्लेजुङ घटनाको छानबिनका लागि एमाले कोशी प्रदेशले उपाध्यक्ष टीकाराम चेम्जोङको संयोजकत्वमा अलग्गै छानबिन समिति बनाएको छ भने झडपलाई साथ दिएको आरोपमा प्रदेश कमिटीका सल्लाहकार बलबहादुर सामसोहाङ र जिल्ला नेता मणिशेक पोमूलाई अनुशासनको कारबाही गरी निलम्बन गरेको छ ।
सुदूरपश्चिममा उस्तै हालत
कोशीअघि सुदूरपश्चिम एमालेमा पनि कारबाही प्रकरण चलेको थियो । त्यहाँ भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरलाई एमालेले निष्कासन गरेको थियो ।
त्यसअघि एमाले अछामले पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न रहेको भन्दै ६ जनामाथि कारबाही गरेको थियो । अछाममा जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश बहादुर शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर, शंकर भुल, रतन रावल तथा साफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई पार्टी कमिटीको पदीय जिम्मेवारीबाट एमालेले मुक्त गरेको थियो ।
पार्टीका विभिन्न जनसंगठन र जिल्ला अधिवेशनहरूमा देखिएको यो तनावले एमालेको आन्तरिक लोकतन्त्र र नेतृत्वको प्रभावकारितामाथि प्रश्न उठाएको छ । एमालेका शीर्ष नेताहरूले यो विवादलाई सामान्य भने पनि कार्यकर्ता र विश्लेषकहरूले यसलाई गम्भीर रूपमा लिएका छन् । एमालेको यो आन्तरिक लडाइँले पार्टीको साख र भविष्य दुवैलाई जोखिममा पार्न सक्ने देखिएको छ ।