काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले आगामी जेठ ६ गतेदेखि आईपीओ (प्राथमिक सेयर) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर जारी गर्न लागेको हो ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ बराबरको जारी पूँजीको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्काशनको अनुमति प्राप्त भइसकेको छ।
आयोजना प्रभावितका लागि ९ लाख कित्ता सेयर
त्यसमध्ये, ९ लाख ९ हजार १०१ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । ३ लाख ६३ हजार ६४० कित्ता सेयर गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ र ५ का स्थायी बासिन्दालाईछुट्याइएको छ ५ लाख ४५ हजार ४६१ कित्ता सेयर धार्चे गाउँपालिका–१, २, ३, ६ र ७ का बासिन्दालाई प्रदान गरिनेछ ।
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कम्पनीले ३ लाख ५४ हजार ५५० कित्ता सेयर छुट्टाएको छ । जुन सेयरको कुल मूल्य ३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको हुनेछ ।
७० हजार ९१० कित्ता सेयर कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको छ
बाँकी २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ। आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन छिटोमा जेठ २० गते र ढिलोमा असार ४ गतेसम्म दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने जेठ २० गतेभित्र आवेदन दिनुपर्नेछ । आईपीओ निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ ।
कम्पनीले निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख ४६ हजार ३७७ रुपैयाँ रहेको छ । प्रति मेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार ४३५ रुपैयाँ रहेको छ । परियोजनाको विद्युत् अनुमति ३० वर्ष ९ महिना बाँकी छ भने लगानी फिर्ता हुने औसत अवधि ७ वर्ष ३ महिना, र छुटमा हिसाब गर्दा १० वर्ष ९ महिना रहेको छ ।











