Logo
Logo

धरान पुगेर पहिचानवादीलाई प्रचण्डले ढाँटे !


2.4k
Shares

कामठाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानवादीहरूलाई ढाटेका छन् । 

आइतबार धरानमा आयोजित किराती र लिम्बुवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले तत्कालीन प्रदेश नं. १ को नाम कोशी हुँदा आफ्नो पार्टी अन्तिम समयसम्म पहिचानकै आधारमा नाम राख्नुपर्नेमा दृढ रहेको दाबी गरे । 

उनले भने, ‘अहिले पनि हामीले १ नम्बर नै प्रदेश भनेका छौँ । हाम्रो पार्टी यस प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्छ भनेर लडिरहेकै थियो । अहिले पनि पहिचानकै आधारमा नाम हुनुपर्ने भन्ने सिद्धान्तबाट थोरै पनि विचलित भएका छैनौँ । तर, सङ्ख्याले केही कन्फ्यूजन भयो ।’

तत्कालीन प्रदेश नं. १ ले २०७९ फागुन १७ गते कोशी नाम पाएको थियो । त्यसबेला नेकपा (एमाले)का सांसद रामबहादुर राना मगरले प्रस्तावित गरेको कोशी नाममा प्रचण्डको दल माओवादी केन्द्रले समेत समर्थन जनाएको थियो ।

पछि त्यसको विरोध भएपछि माओवादी केन्द्रले त्यो निर्णय फिर्ता त लियो । तर, ऊमाथि लागेको आरोप भने ज्युँका त्युँ छ । यही सन्दर्भमा प्रचण्डले आउँदो आवधिक निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याए नाम फेर्ने बताउने गरेका छन् ।

आफूहरूले बहुमत ल्याए कोशी प्रदेशको नाम फेरेर पहिचानको आधारमा राख्ने उद्घोष गरेका छन् ।

अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पहिचानको नाममा फेरि राजनीतिक भाषण गरिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पहिचानको नाममा फेरि राजनीतिक भाषण ! लाटाहरू झुक्किएको देख्दा चकित छु म ।’

प्रतिक्रिया दिनुहोस्