
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले शिवसेनाका अध्यक्ष अनिल बस्नेतलाई रिहा गर्न माग गरेका छन् । उनले सामाािजक सञ्जालमार्फत बस्नेतसहित ‘आस्थाका सबै बन्दी’लाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
‘सरकार झन्झन् निरंकुश र असहिष्णु बन्दै छ। फरक विचार बोकेकै कारण रवीन्द्र मिश्र, दुर्गा प्रसाईं, पशुपति खड्का, मनीन्द्रराज भण्डारी, सन्तोष सिलवाल, कमल विष्ट लगायतलाई सरकारले बिनाकारण डेढ महिनादेखि थुनामा राखेको छ’, थापाले लेखेका छन्, ‘यसैबीच शिवसेनाका अध्यक्ष अनिल बस्नेतलाई पनि पक्राउ गरेको छ। आस्थाका सबै बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दछु । ’
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले बस्नेतलाई आइतबार काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध अनुसन्धान गर्न दुई दिनको म्यान थप गरेको छ ।











