
दक्षिण एसियाका दुई आणविक राष्ट्र भारत र पाकिस्तानबिच युद्धको कालो बादल मडारिन लागेका बेला अमेरिका र साउदी अरबको पहलमा शनिबार साँझदेखि युद्धविराम भएकाले यस क्षेत्रका देश र जनताहरूले शान्तिको सास फेर्न पाएका छन् । एकअर्काबीच जम्मुकास्मिरमा मिसाइल र ड्रोनहरुका आक्रमणसँगै थुप्रै निहत्था जनताको निधन भएको छ र भौतिक संरचना ध्वस्त भएको
आआफ्ना अहङ्कार, स्वाभिमान र इज्जतका लागि अस्तित्वको लडाइँले विश्वयुद्ध नै निम्तने हो कि भन्ने सम्भावना थियो । दुवै पक्षले सुझबुझ एवं बुद्धिमत्ताका साथ थप क्षति हुन नदिन चालेको कदम स्वागतयोग्य छ । यसलाई कसरी यस क्षेत्रकै दिगो शान्ति र अमनचयन, मैत्री र सद्भावमा रूपान्तरण गर्ने भन्ने विषयमा छिमेकी देश अमेरिका, रुस, चीन, युरोपेली सङ्घ, खाडी र अरब राष्ट्र आदि राष्ट्र संलग्नता भई निष्कर्ष निकाल्नु हितकर हुने छ ।
गत अप्रिल २२ मा भारत प्रशासित कास्मिरको पहलगाम क्षेत्रमा भएको आतङ्ककारी आक्रमणले त्यहाँको शान्तिपूर्ण पर्यटन क्षेत्रमा गम्भीर असर पु¥याएको छ । उक्त आक्रमणमा २६ निर्दोष पर्यटकको ज्यान गएको थियो, जसमा २५ भारतीय र एक नेपाली नागरिक थिए । सो घटनामा २० भन्दा बढी घाइते भएका थिए । घटना कास्मिरको बैसरन उपत्यकामा भएको हो, जहाँ थुप्रै पर्यटक घुम्न गएका थिए ।
स्थानीय समयानुसार अपराह्न करिब ३ बजे सशस्त्र आतङ्ककारीको समूहले अचानक पर्यटकलाई घेरेर लिङ्ग र धर्मका आधारमा छुट्याएपछि गोली चलाएका थिए । सो आक्रमणलाई हालसम्मकै एक भीषण घटनाका रूपमा लिइएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भारत भ्रमण चलिरहेकै बेलामा भएको सो आक्रमणले अन्तर्राष्ट्रिय प्रचार र प्रतिक्रिया स्वतः पाउने नै भयो ।
त्यसैको प्रतिक्रियास्वरुप भारतले दुई हप्तापछि मे ७ मा पाकिस्ताननियन्त्रित नौ ठाउँमा आक्रमण गरेपछि युद्धको विभीषिका बढ्दै जान थालेको थियो । यसअघि भारतमा सन् २०१६ मा उरी, २०१९ मा पुलवामामा भएको आक्रमणमा १९ र ४० भारतीय सैनिक, अर्धसैनिकको ज्यान गएको थियो । तिनको प्रतिक्रियास्वरुप भारतले पाकिस्ताननियन्त्रित कास्मिर र बालाकोटमा आक्रमण गरेको थियो भने, यसपालि पन्जाबसम्म पनि निसाना बनाएको थियो ।
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनएए) ले गरेको प्रारम्भिक अनुसन्धानमा पाकिस्तान–आधारित आतङ्ककारी सङ्गठन लस्कर–ए–तोइबा र जैस–ए–मोहम्मदको संलग्नता देखिएको छ । घटनापछि भारतले पाकिस्तानसँगको कूटनीतिक सम्बन्धमा कठोर कदम चालेको छ । सिन्धु जलसन्धि अस्थायी रूपमा निलम्बन गरिएको छ । पाकिस्तानका सैन्य सल्लाहकारहरू भारतबाट निष्कासन गरिएका छन् । पाकिस्तानबाट आउने पर्यटक र व्यापारिक आगमनमा कडाइ गरिएको छ । उक्त घटनाको पाकिस्तानले आरोप अस्वीकार गर्दै अन्तर्राष्ट्रिय छानबिनको माग गरे पनि भारतले उक्त प्रस्ताव अस्वीकार गरिसकेको छ ।
भारत–पाकिस्तान दुवै आणविक राष्ट्र भएकाले ड्रोन, मिसाइलबाट क्रिया, प्रतिक्रिया चलिरहेको भए दुवै पक्ष आणविक हतियार चलाउने स्थितिमा पुगेमा विश्वयुद्ध निम्तने खतरा हुन्थ्यो । पाकिस्तानले चीनमा बनेका फाइटर जेट र मिसाइल तथा भारतले रुस र फ्रान्समा बनेका राफेल जेट, मिसाइललगायत हतियार प्रयोग गरेका थिए ।
भारतलाई रुसको सहायता र पाकिस्तानलाई चीनले दिने समर्थन नैतिक र भौतिक दुवै हुन सक्थ्यो । भूराजनीतिक अवस्था यस्तो हुनुहुन्थ्यो कि पाकिस्तान इस्लाम राष्ट्र भएकाले खाडी र अरब राष्ट्रको समर्थन पनि पाकिस्तानले पाउन सक्थ्यो भने भारतलाई इजरायल, साउदी अरबलगायतले समर्थन गरेका थिए ।
पाकिस्तान र चीनबिचको पुरानो सम्बन्धका कारण दक्षिण एसियाली क्षेत्र रणभूमि बन्न सक्ने सम्भावना अत्यधिक थियो । यसैबिच रुस–युक्रेन युद्धका एक पक्षधर रुसका राष्ट्रपति पुटिनले असीमित सम्बन्ध भएका चीनका राष्ट्रपति सी चिनफिङको आफ्नो देशमा भएको भ्रमणकै क्रममा युक्रेनसँग युद्धविरामको प्रस्ताव गरेका छन् । उनले तत्काल र सिधा वार्ता गर्न चाहेको बताएका छन् ।
यसको कारणमा भारत–पाकिस्तान युद्धविरामको प्रभाव उनमा परेको विश्वास गर्न सकिन्छ । शनिबार एक टेलिभिजन सम्बोधनमा उनले भने, “हामी द्वन्द्वका मूल कारणहरू हटाउन तथा दिगो, बलियो शान्तितर्फ अघि बढ्न गम्भीर वार्ता गर्न चाहन्छौँ ।” यसको प्रत्युत्तरमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विश्वले लामो समयदेखि सो कुरालाई पर्खिरहेको जनाउँदै मे १२ (वैशाख २८) देखि युद्धविराम गर्ने र भेट्न तयार हुने सन्देश पठाएका छन् ।
पहलगाम घटनामा असंलग्न राष्ट्र नेपालले आतङ्कवादको सशक्त विरोध गरेर भारतका पक्षमा ऐक्यबद्धता जनायो । भारतले आतङ्कवादीका निसाना लगाउने भनी गरेको मिसाइल आक्रमणबाट पाकिस्तानमा ठूलो धनजनको क्षति भए पनि नेपाल त्यसका विरोधमा नबोलेर नै स्थिति शान्त पार्ने प्रक्रियाप्रति विश्वास व्यक्त गर्दै दक्षिण एसियाली क्षेत्रमा दिगो शान्ति र स्थायित्वप्रति पुनः प्रतिबद्धता व्यक्त ग¥यो । सार्कको अध्यक्षका नाताले नेपालले यति बोलेर पनि मात्र पुग्दैनथ्यो ।
विश्वशक्ति अमेरिकाले दुवैै पक्षका राजनीतिक तथा सैन्य एवं सुरक्षा अधिकारीहरुसँग सम्पर्क गरी स्थिति बढ्न नदिन दुवै पक्षलाई मन्जुर गराउन सफल भयो भने, सार्क राष्ट्रको अध्यक्षको हैसियतले ‘युद्धविराम’ गराउनेतिर कुनै पहलसमेत गरेन । अहिलेका परिस्थितिमा बोल्नु मात्र ठिक भए पनि त्यतिले मात्र वातावरण बनाउन सक्दैन । नेपालले आफ्नो कूटनीतिक कौशलता र क्षमता सक्रिय र प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नुपथ्र्याे । ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने नाराले मात्र शत्रुतापूर्ण स्थितिमा रहेका राष्ट्रलाई वार्ताको टेबलमा ल्याउन सकिँदैन ।
जे होस्, अहिलेलाई युद्धविराम मात्र भएकाले वार्ता गर्नका लागि नेपालको भूमि, त्यसमाथि बुद्धको देशको नाताले जुन पहल गर्नुपथ्र्यो, त्यो हुन सकेन । प्रधानमनत्री केपी शर्मा ओली बुद्धका विषयमा प्रवचन दिएर नथाक्ने तर परिस्थिति नियन्त्रण गर्न कुनै पहल नगर्नुले नेपालको कूटनीति कमजोरी देखियो । यसका लागि केही समय आन्तरिक विषय थाती राखेर वैदेशिक विषय, त्यो पनि छिमेक र यस क्षेत्रकै शान्तिसँग सम्बन्धित विषयमा ध्यान केन्द्रित गर्नु राम्रो हुने छ । परराष्ट्र मन्त्रालय र दुवै देशमा रहेका नेपालका राजदूतावास पनि यसमा सक्रिय भएर लाग्नु जरुरी छ ।