काठमाडौं । भनिन्छ- ‘जितको दाबी गर्नेहरू हजार हुन्छन्, तर हार सधैँ एक्लो हुन्छ।’ दक्षिण एसियाका चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको छोटो तर विनाशकारी युद्धपछि यो भनाइ अझै सान्दर्भिक छ।
भारत र पाकिस्तानबीच १९ दिनको तनाव र चार दिनको भीषण युद्धपछि युद्धविराम भयो । पठानकोटदेखि कराँची, रावलपिण्डी, पेसावरसम्म जमिन, ड्रोन र लडाकु विमानमार्फत आक्रमण–प्रत्याक्रमण भए ।

दुवै देश लामो युद्धका लागि तयार थिएनन् ।अन्तर्राष्ट्रिय दबाब, विशेषगरी अमेरिका, चीन, बेलायत, साउदी अरब र टर्कीको मध्यस्थताले युद्धविराम सम्भव भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरे, जसले भारत–पाकिस्तानभित्र प्रश्न उठायो । सिमला सम्झौता (१९७२)ले तेस्रो पक्षको मध्यस्थता नमान्ने उल्लेख गरे पनि यसपटक बाह्य हस्तक्षेप देखियो ।
युद्धमा दुवै पक्षको क्षति भयो तर पूर्ण विवरण सार्वजनिक भएन । युद्धविरामपछि सीमा क्षेत्र शान्त भएको छ । जम्मु काश्मीरमा जनजीवन सामान्य बन्दैछ । भारतले ‘अपरेसन सिन्दुर’ जारी रहेको बताए पनि युद्धविराम उल्लंघनको आरोप दुवैतर्फबाट लाग्यो ।
युद्धविरामपछि दुवै देश आफ्ना कथित विजयको बखानमा व्यस्त छन् । तर क्षतिको सत्य लुकाउन मरिहत्ते गरिरहेका छन् । अमेरिकाको मध्यस्थतामा युद्धविराम भएको केही मिनेटमै भारतीय टेलिभिजन च्यानलहरूले ठूला–ठूला हेडलाइन छापे– ‘पाकिस्तानले घुँडा टेक्यो।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै देशको सामर्थ्य र संयम दुवैलाई विश्वले देखेको बताएका छन्।
प्रधानमन्त्री मोदीले भने, ‘गत केही दिनमा भारतले आफ्नो क्षमता र धैर्य दुवै देखाएको छ। म सम्पूर्ण भारतीय जनताका तर्फबाट भारतीय सेनाका पराक्रमी जवानहरू, सशस्त्र बलहरू, खुफिया निकायहरू र वैज्ञानिकहरूलाई सलाम गर्छु।’
प्रधानमन्त्री मोदीले देशको सुरक्षाका लागि चलाइएको अभियानमा सैनिकहरूले अद्वितीय साहस र शौर्य प्रदर्शन गरेको उल्लेख गर्दै भने, ‘हाम्रा वीर सैनिकहरूले अपरेसनका लक्ष्यहरू हासिल गर्न अदम्य साहस देखाएका छन्। म उनीहरूको वीरता, साहस र पराक्रम देशका हरेक आमा, दिदीबहिनी र छोरीहरूलाई समर्पित गर्दछु।’
यता, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले आफ्नो सेनाले ‘ऐतिहासिक विजय’ हासिल गरेको भन्दै गर्व गरे । त्यही ‘विजय’को उत्सवमा पाकिस्तानी सडकहरूमा भीड उर्लियो, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेदेखि उत्सव मनाउनेसम्मका दृश्य देखिए ।
पाकिस्तानले हवाई युद्धमा पाँच भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ, जसमा तीनवटा अत्याधुनिक फ्रान्सेली राफेल विमान भएको उसको भनाइ छ । यदि यो सत्य हो भने, यो भारतीय वायु सेनाका लागि ठूलो लज्जाको विषय हुनेछ ।
उता, भारतले नयाँ स्याटलाइट तस्बिरहरू सार्वजनिक गरेको छ, जसमा पाकिस्तानी हवाई अड्डा र रेडार स्टेसनहरूमा गम्भीर क्षति भएको देखिन्छ । भारतीय अधिकारीहरूले पाकिस्तानी सैन्य अखडाहरूलाई तहसनहस बनाएको दाबी गरेका छन्।
यो युद्धको परिणामलाई दुवै देशका नेतृत्वले आफूअनुकूल व्याख्या गरिरहेका छन्, तर स्पष्ट विजेता कोही छैन । युद्धविरामको जस लिने होडमा पनि कमी छैन।
यो युद्धमा कसैको स्पष्ट जित भएन । दुवै देशले शक्ति प्रदर्शन गरेपछि लामो युद्धको जोखिम र अन्तर्राष्ट्रिय दबाबले युद्धविराम ल्यायो । परमाणु शक्तिसम्पन्न राष्ट्रबीचको यो तनाव शान्तिमा बदलिनु दक्षिण एसियाको स्थिरताका लागि सकारात्मक छ । तर, युद्धविरामको स्थायित्व र भविष्यको सम्बन्ध सहमतिको सर्तमा निर्भर हुनेछ ।











