काठमाडौं । उद्योग विभागको अनुमति शाखा बिनाप्रलोभन सेवाग्राहीको काम नहुने प्रवृृत्ति बढ्दै गएको छ ।
उद्योग दर्ता, म्याद थपलगायतका महत्वपूर्ण काम हुने शाखाको रुपमा रहेको उक्त शाखा पछिल्लो समय घुसखोरी अखडाको रुपमा परिणत हुँदै गएको छ । शाखाको निर्देशकका रुपमा लामो समयदेखि कार्यरत सरोज पोखरेलले घुसखोरीलाई नियन्त्रण गर्न सकेका छैनन् । खुलेआम हरेक काममा रकम असुली गर्ने कर्मचारीको मनोदशाको शिकार सेवाग्राही बन्न पुगेका छन् ।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले प्रत्येक शाखालाई सेवामैत्री बनाउँदै चलखेल रोक्न निर्देशन दिंदैआएका छन् । तर उनको निर्देशन पालना हुन नसक्दा विभागको बदनाम हुन पुगेको छ । बिगतमा महत्वपूर्ण काममा मात्रै सेवाग्राहीबाट रकम लिने गरेका कर्मचारीहरु अहिले हरेक काम विनादाम नगर्ने प्रबृत्ति बढेको गुनासोप्रति महानिर्देशक ज्ञवालीसमेत जानकार छन् ।
उनले प्रत्येक स्टाफ मिटिङमा कर्मचारीलाई अनुचित लाभबिना काम गर्न निर्देशन दिँदै आएका छन् । तर उक्त निर्देशन अनुमित शाखा र ट्रेडमार्क शाखाले अटेर गर्दै आएकाले विभाग बदनाम भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतकै अर्को निकाय वाणिज्य विभागले पछिल्ला दिनमा वाहीवाही कमाइरहेको बेला उद्योग विभागमा भने झन् ढिलासुस्ती र अनियमितता बढ्दै जाँदा उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतसमेत चिन्तित छन् ।
वाणिज्य विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पद सम्हालेपछि बिगतमा ठप्प रहेको बजार अनुगमन तीव्र बनाइएको छ । सीमित विभागको अनुगमन ठूला क्षेत्रमा केन्द्रित हुन पुग्दा विभाग पनि छ भन्ने अनुभूति आमउपभोक्ताले गर्न थालेका छन् ।
दिनहुँ दर्जनौं शंकास्पद ठाउँमा अन्ुगमन तीव्र बनाएको विभागले करोडौं राजस्व छलीदेखि कम तौलका गुट्खाजन्य उत्पादन बिक्री डिपो छापा मारी सिल गरिएको छ ।
गोल्डस्टार ब्रान्डको जुत्ता उत्पादन गर्ने उद्योगलाई एमआरपी नराखेको भन्दै २ लाख ५ हजार रुपैयाँ जरिवाना गरी सिलबन्दी गरिएको छ । एमआरपी नराख्ने सिमेन्ट, छड उद्योगहरुमा निगरानी बढाइएको छ । देशभरका ६ सय वटा कस्मेटिक पसल र बितरकहरुलाई अस्वभाविक मूल्य लिई कालोबजारी गरेको आरोपमा कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ । १ सय रुपैयाँ पर्ने पार्टपूर्जा १ हजार मूल्यमा बिक्री गरी उपभोक्ताहरुमाथि ठगी गर्ने मोटर पार्टस् बिक्री वितरण गर्ने डिलरहरुमा छापा हानी एमआरपी राख्न निर्देशन दिइसकिएको छ । यी सबै प्रकरणले वाणिज्य विभागको छवि उच्च भइरहँदा उद्योग विभाग भने अकर्मण्य बनेको छ ।











