Logo
Logo

सहकारी ठगी प्रकरण: कांग्रेस सांसद माया राईको बयान सुरु


756
Shares

काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेस सांसद माया राईको अदालतमा बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा सांसद राईको बयान सुरु भएको हो । बयान सकिएपछि थुनछेक बसह हुनेछ । त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने वा साधारण तारेख र धरौटीमा छाड्ने मध्ये एक आदेश आउने छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदन अनुसार सांसद राईविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा सांसद राईसमेतका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजन दर्ता भएको हो ।

सांसद राई कुनै समय उक्त सहकारीको सहसचिव समेत थिइन् । उनी सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ ।

राई आर्थिक वर्ष २०७३/७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिवको जिम्मेवारीमा थिइन् ।

राई सञ्चालक समितिमा रहेको बेला आर्थिक वर्ष २०७३/७४ मा पनि रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिबेला विना धितो ऋण प्रवाह गरेको समेत भेटिएको थियो ।

स्वर्णलक्ष्मी सहकारीमा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको खुलेको छ । कुल पूँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरेको भेटिएको छ ।

त्यस्तै सूचीकृत नभएका संस्थालाई समेत लगानी गरेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्