Logo
Logo

टेरामक्स भ्रष्टाचार प्रकरण: दुई पूर्वमन्त्रीलाई उन्मुक्ति


6.3k
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार यो मुद्दा दायर गरेको हो । खरिद प्रक्रियामा ३ अर्ब २१ करोड ८३ लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरषोत्तम खनाल, निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सन्दीप अधिकारी, निर्देशक सुरेन्द्रलाल हाडा, दीपेश आचार्य र दुई परामर्शदाताविरुद्ध पनि मुद्दा दायर भएको छ । सबै प्रतिवादीसँग उक्त रकम बिगो दाबी गरिएको छ।

टेरामक्स खरिदमा तीन पूर्वमन्त्री र तिनका कार्यकालका सचिवहरू जोडिए पनि अख्तियारले बस्नेतलाई मात्र मुद्दा चलाएको छ । यसप्रकरणमा दुई जना पूर्वमन्त्री गोकुल बाँस्कोटा र ज्ञानेन्द्रका कार्कीले भने उन्मुक्ति पाएका छन् ।

पूर्वमन्त्री गोकुल बास्कोटाले टेरामक्सका लागि ७० करोड रुपैयाँ बजेट स्वीकृत गरेका थिए । ७ कात्तिक २०७५ मा उनले मन्त्रीस्तरीय निर्णयबाट बजेट चलाउन सहमति दिएका थिए ।

प्राधिकरणले २५ करोड मागेकोमा बास्कोटाले ७० करोड स्वीकृत गरेका थिए, जसमा परामर्शदाता छनोटका लागि २० करोड र परामर्श सेवा खरिद तथा कार्यान्वयनका लागि ५० करोड थियो । तर, अख्तियारले ‘प्रमाण अभाव’ भन्दै उनलाई मुद्दा नचलाउने निर्णय गरेको छ।

यस्तै, तत्कालीन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २५ कात्तिक २०७८ मा पुरक बजेट स्वीकृत गरेर ग्रामीण दूरसञ्चार कोषबाट ७० करोड चलाउने बाटो खोलेका थिए । तर, अख्तियारले उनको संलग्नता पुष्टि नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्