Logo
Logo

‘प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक’


378
Shares

काठमाडौं । सांसदहरुले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अर्जुन नरसिंह केसीले नेपाल प्राकृतिक जोखिमको उच्चतम विन्दुमा रहेकाले वर्षायाम सुरु हुन लागेसँगै सतर्कता अपनाउनुपर्ने बताए । उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव सरकारले गम्भीर रूपमा लिनुपर्छ । तीनै तहको समन्वय र आवश्यक बजेट विनियोजन गर्न आवश्यक छ ।’

सांसद अम्बरबहादुर रायमाझीले पनि देशका राजमार्गको अवस्था बिग्रिँदो अवस्थामा रहेकाले मनसुन सुरु हुन लाग्दा समयमै ध्यान दिनुपर्र्ने बताए । ‘राजधानीबाट पूर्वतर्फ यात्रा गर्ने बिपी राजमार्ग जीर्ण अवस्थामा छ यसका लागि वैकल्पिक मार्गको व्यवस्था होस् भनेर माग गर्दछु’, उनले भने ।

सांसद अच्युतप्रसाद मैनालीले त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय बनाउन सके विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताए। सांसद अनिशा नेपालीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सल्यानका १० वटै स्थानीय तहमा करोडौँ बेरुजु देखिएकाले यसका कारणबारे छानबिन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्