काठमाडौं । काठमाडौं र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीले दुवै घटनाका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

काठमाडौं महानगरपालिका–३१, कात्यायनी चोकस्थित सडकमा शुक्रवार बिहान कात्यायनीबाट भिमसेनगोलातर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९५६३ नम्बरको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालक शिवांस झाको मृत्यु भएको छ । भारत, सितामढी घर भई कात्यायनीमा डेरा गरी बस्ने ४० वर्षीय आलोक कुमार झाका छोरा शिवांस गम्भीर घाइते भएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, सिउरेनीस्थित सडकमा माङपाङ खोलाबाट ठूलोबेशीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ त ८७४१ नम्बरको ट्याक्टरबाट खसेर ३८ वर्षीय सुक बहादुर कामीको मृत्यु भएको छ । गोरखा, आरूघाट गाउँपालिका–९, बगैँचा बस्ने कामी ट्याक्टरमा सवार थिए । शुक्रवार बिहान भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सवारी चालकको लापरबाही वा अन्य कारणबारे विस्तृत जाँच भइरहेको प्रहरीले जनाएको छ ।














