Logo
Logo

रवि प्रकरणमा ट्विस्टः नाम किर्ते, रकममा चलखेल !


5.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको आरोपमा चलिरहेको अनुसन्धान र मुद्दाहरूलाई लिएर सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप लाग्दै आएको छ ।

लामिछानेमाथि सूर्यदर्शन, सुप्रिम, र स्वर्णलक्ष्मी सहकारीहरूको बचत रकम अपचलन गरेको आरोप छ । प्रहरीले उनलाई कास्की, काठमाडौं, रूपन्देही, चितवन र पर्सामा सहकारी ठगी र संगठित अपराधको अनुसन्धानमा जोडेको छ ।

लामिछाने उच्च अदालतको अदेशमा रुपन्देही जिल्ला कारागारमा छन् । तर, उनलाई जुन मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ, त्यही मुद्दाका जाहेरवालाहरूले आफूहरूको नाम किर्ते भएको बताएका छन् ।

जसले रविविरुद्ध फेक उजुरी दिएको भन्ने आशंका बढेको छ भने प्रहरी संयन्त्र र सरकारमाथि नै गम्भीर प्रश्नसमेत खडा भएको छ । वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका मध्ये नारायण पहराईले सबैभन्दा पहिले आफूले रविविरुद्ध उजुरी नदिएको बताएका थिए ।

उनको नाम उजुरीकर्ताको लिस्टमा थियो । तर उनले गत वैशाख २७ गते सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफूले रविविरुद्ध उजुरी नदिएको र बचत फिर्ताका लागि दिएको निवेदनलाई नै उजुरी भनेर दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

उनले लेखेका छन् – ‘रवि लामिछानेविरुद्ध मैले जाहेरी दिएकै छैन । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कैयौं बचतकर्तामध्ये म पनि एक हुँ । सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो । र, इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएँ । मेरो उजुरी कोही व्यक्ति लक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो । एक बचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ । ‘नारायणबहादुर पहराई समेतको जाहेरीले बादी नेपाल सरकार’ भनेर रुपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो। बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइन । तर, रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरिया । यो प्रचारमा सत्यता छैन ।’

नारायण पहराईसँगै अर्की उजुरीकर्ता भनिएकी गीता आचार्यले पनि बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको आरोप लगाएकी थिइन् । त्यस्तैगरी अर्की उजुरीकर्ताको लिस्टमा भएकी पूजा न्यौपानेले पनि आफूले बचत डुबेकाहरुले निवेदन दिनु भनेपछि रकम फिर्ता पाउँ भनि निवेदन दिएको तर उक्त कागजातलाई नै दुरुपयोग गरिएको आरोप लगाएकी छन् । 

उनले पनि फेसबुकमै भनेकी छन् – ‘म सुप्रीम सहकारीको बचतकर्ता र सहकारीपीडित हुँ । मैले आफ्नो व्यापारबाट आएको आम्दानीलाई धेरै–थोरै बचत गर्दै केही रकम सहकारीमा जम्मा गरेकी थिए । जब सहकारी डुब्यो भन्ने थाहा पाएँ त्यसपछि धेरैपटक पैसा पाईन्छ कि भनेर सहकारी कार्यालय गएर लाईनमा बसेँ । पछि ईलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फसिएकाहरुले निवेदन दिनु भनेपछि मैले पनि पैसा फिर्ता पाउँ भनेर निवेदन र पासबूकको फोटोकपी लगेर बुझाएको हो । मैले कुनै व्यक्तिविशेषलाई किटानी जाहेरी वा उजुरी दिएकी छैन ।’

रवि लामिछाने पुर्पक्षका लागि भैरहवा कारगार चलान भएको करिब दुई महिना हुन लाग्यो । उनी गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार पक्राउ परेका थिए । 

यसपछि नै उनलाई पुर्पक्षका लागि कारागार चलान गरिको थियो । सुरुमा रविले जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्न दिएको आदेश खारेजी गरेर साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । उता सरकारी वकिल कार्यालय समेत रविलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत गएको थियो । यस्तैमा उच्च अदालतले रविलाई पक्राउ गरि पुर्पक्षमा पठाउन आदेश दिएको थियो । 

वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएकामध्ये ३ जनाले नै आफूहरुको नाम दुरुपयोग गरिएको भन्दै प्रष्टिकरण दिइरहेका छन् । यस्ले रविविरुद्ध प्रहरी नै षड्यन्त्रमा लागेको त होइन ? भन्ने आशंकाहरु पनि पैदा भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्