काठमाडौं । प्रहरीले काठमाडौं र नुवाकोटबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६, पकनाजोलमा अफिमजस्तो देखिने १ किलो ६० ग्राम पदार्थसहित रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का ४५ वर्षीय रूद्र बहादुर थापा र ३६ वर्षीय राकेश परियार पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र लैनचौर प्रहरी वृत्तको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस्तै, नुवाकोटको ककनी गाउँपालिका–१, ओखरपौवामा ४ किलोग्राम गाँजासहित ककनी–४, हिलेखर्ककी ५५ वर्षीया कान्छी माया तामाङ र ३९ वर्षीया सुनिता तामाङ पक्राउ परेकी छन् । ओखरपौवा प्रहरी चौकीको टोलीले चित्रेबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१९००६ ख ४५७१ नम्बरको ट्रक जाँच गर्दा उक्त गाँजा फेला परेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।














