Logo
Logo

आफूहरुमाथि ज्यादती भएको भन्दै खाँडादेवी गाउँपालिकाका स्थानीयवासी आन्दोलित


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १६ साउन । रामेछापको खाँडादेवी गाँउपालिकाले जुन प्रयोजनमा जग्गा लिएको हो सोहीअनुसार काम नगरेको भन्दै जग्गादाता तथा स्थानीयवासीहरुले जग्गा लिँदाको प्रयोजनअनुसार काम गरिनुपर्ने माग राखेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा खाँडादेवी गाउँपालिका अनियमितता संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । उक्त गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र ६ नम्बर वडाका अध्यक्षसमेत रहेका गाउँपालिकाका प्रवक्ता पुष्कर कार्कीले एकलौटी रुपमा जुन प्रयोजनको लागि जग्गा लिएको हो सोअनुसार काम नगरेको स्थानीयवासीहरुको आरोप छ ।

उक्त गाउँपालिकाको चोप्राङमा ईलाका प्रहरी कार्यालय भवन निर्माणको लागि स्थानीयवासिन्दाले चार रोपनी तीन पैसा जग्गा दानपत्र गरेको र भवन निर्माणको लागि बोलपत्र आह्वान भएर ठेक्का पर्दा र निर्माण कार्य अघि बढाउने बेलामा पालिकाका प्रवक्तासमेत रहेका वडाअध्यक्ष पुष्कर कार्कीले काम नै गर्न नदिएको पनि उनीहरुको आरोप छ । जग्गादाताहरु शान्ता कार्की र बिन्दा कार्कीको परिवारलाई वडाअध्यक्ष र पालिकाका अध्यक्षले आफ्नो पार्टीमा प्रवेश गर्न दबाब दिएको तर जग्गादाताहरुले उनीहरुको राजनीतिक दबाब अस्विकार गर्दा भवन निर्माणमा बाधा सिर्जना गरिएको बताईएको छ । पालिकाका अध्यक्ष तामाङ र वडा नम्बर ६ का अध्यक्ष कार्की दुवै जना सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै समाजसेवीसमेत रहेका नारायण कार्कीले आफूहरुले ईलाका प्रहरी कार्यालय निर्माणको लागि जग्गा दान गरिसकेकोले उक्त जग्गामा यथाशक्य चाँडो भवन बनाईनुपर्ने माग गरे । उनले भने,‘यदि भवन निर्माण नगरेर बसिन्छ भने हामी गाउँपालिकाको विरुद्धमा कानूनी प्रक्रियामा जान्छौं ।

त्यस्तै, जग्गादाता परिवारकै सदस्य डोरबहादुर कार्कीले पालिकाले राजनीतिक पूर्वाग्रह राखेर सामाजिक कार्यमासमेत अवरोध गरेको गुनासो पोखे । पालिकाले यसैगरि राजनीति पूर्वाग्रह राखेर उक्त जग्गा लिँदाको प्रयोजनअनुसार काम नगरे आफूहरुपनि प्रतिकारमा उत्रिने चेतावनी दिए । उनले पालिकाको कार्यालयमै तालाबन्दी गरिने चेतावनी दिएका छन् ।

उक्त गाउँपालिकाले ईलाका प्रहरी कार्यालय भवन निर्माणको लागि मात्रै नभएर पालिका प्रयोजनको लागि स्थानीयवासीहरुबाट पन्ध्र रोपनी दानपत्र लिएको जनाईएको छ । दानपत्रमा स्थानीयवासीहरुसँग जग्गा लिएपनि गाउँपालिकाका पदाधिकारीहरुले अहिलेसम्म उक्त जग्गा प्रयोग नगरेको बरु सार्वजनिक जमिन (जंगल) मा अस्थायी संरचना बनाइको उनीहरुको भनाई छ ।

पन्ध्र रोपनी जग्गा दान गर्नेहरुमा बालकृष्ण खत्री, रुद्र बहादुर खड्का, खड्गबहादुर खत्री, शंकर कार्की, लक्ष्मण केसी, पूर्ण बहादुर केसी, तुलबिक्रम खत्री, मोहन केसी, सुरेन्द्र केसी, झप्पडबहादुर खत्री, खुमबहादुर खत्री, विश्वराम खत्री, केदार राउत, चित्रबहादुर राउत र गोपाल राउत रहेका छन् ।

पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुले दान गरेको जग्गामा जे प्रयोजनमा जग्गा लिईएको थियो त्यही प्रयोजनको काम हुनुपर्नेमा जोड दिएका थिए । गाउँपालिकाले दान गरिएको जग्गाभन्दा लगभग पाँच सय मिटर टाढा लगेर खानेपानीको ट्यांकी बनाएकोमा उनीहरुको गुनासो छ । आफूहरुले दान गरेको जग्गामै पालिकाका आवश्यक संरचना नबनाईए स्थानीयवासीहरुले गाउपालिकाविरुद्ध कडाभन्दा कडा संघर्ष गर्नेपनि उनीहरुको चेतावनी छ ।

तर, गाउँपालिकाले स्थानीयवासीले दिएको जग्गामा कुनै संरचना नबनाउनेगरि बद्मासी गरिरहेको पनि उनीहरुले आरोप लगाए । गाउँपालिकाका अध्यक्ष तामाङ र वडा नम्बर ६ का अध्यक्ष पुष्कर कार्कीको रोहवरमा श्री लक्ष्मण साईबारी उपभोक्ता सामूदायिक वनबाट ४० रोपनी जग्गा अस्पताल निर्माण गर्ने प्रयोजनमा लिएको (हाल सम्याईएको छ) र उक्त जग्गामा अस्पताल पनि निर्माण नगरी अर्कै वडामा लगेर अस्पताल निर्माण कार्य सुरु गरेको उनीहरुको आरोप छ ।

संघर्ष समितिका संयोजक रोज मोक्तानले गाउँपालिकाले जुन प्रयोजनको लागि जग्गा लिएको हो सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले भने,‘वडा र गाउँपालिकाले दिएको सिफारिशअनुसारको प्रयोजनको लागि भवन निर्माण गरिनुपर्छ । यदि गाउँपालिकाले त्यसो नगरी आफूखुशी गर्छ भने हामी प्रतिकारमा उत्रिन्छौं ।’ पत्रकार सम्मेलनमा लोकबहादुर मगर, विश्वराम केसी, चन्द्रबहादुर मगर, उमेश भण्डारी, तेजबहादुर घिसिङ, केशव केसी, सफल केसी र ज्ञानबहादुर बुढाथोकीलगायतले पनि गाउँपालिकाले जुन प्रयोजनको लागि जग्गा लिएको छ सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्