
काठमाडौं । काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिँदा सडक अवरुद्ध भएको छ । दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान करिब पौने तीन बजे नागमन्दिर नजिकै सडकको नालीमा खसेको हो ।
उकालोमा ब्रेक नलागेर बस ब्याक भएको र नालीमा खसेको प्रहरीले जनाएको छ । नालीमा खसेको बसको आधा भागले सडकको केही भाग अवरुद्ध हुँदा बिहानैदेखि सवारीसाधनको लामो लाइन लागेको छ । घण्टौंदेखि सवारी जाम हुँदा यात्रुहरु हैरान भएका छन् ।
अहिले बसलाई क्रेनको सहायतले हटाइएपछि दुबै तर्फ लामो जाम रहेकाले बाटो सामान्य अवस्थामा फर्किन केहि समय लाग्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी दिपक गिरीले जानकारी दिए ।
बसमा सवार दुई जना यात्रुलाई सिसाले काटेर घाइते भएका छन् । उनीहरूको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भएको छ ।














