काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत र हिरा, जुवाहरत तथा पत्थरमा १३ प्रतिशत विलासिता कर लगाउने घोषणापछि व्यवसायीहरूले कर खारेजीको माग राख्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

आइतबार सयौँ सुनचाँदी व्यवसायीले ‘सुनमा २ प्रतिशत विलासिता कर खारेज गर’, ‘हिरा, जुवाहरत र पत्थरमा १३ प्रतिशत भ्याट हटाऊ’, ‘उपभोक्ता, कर्मचारी र कालिगढमैत्री ऐन तुरुन्त लागू गर’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारको कर नीतिले व्यवसाय र उपभोक्तालाई प्रत्यक्ष असर गर्ने भन्दै तत्काल नीति संशोधन गर्न माग गरेका छन् ।