Logo
Logo

काठमाडौंमा पानीका लागि ट्याङ्करको भरपर्नु पर्ने अवस्थाको अन्त्य हुन्छ : प्रदीप यादव


504
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्नुपर्ने अवस्थाको अब चाडै अन्त्य हुने बताएका छन् ।

आज खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको काठमाडौं उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मेलम्ची खानेपानी अब काठमाडौँवासीका लागि बाह्रै महिना सञ्चालनमा ल्याई यहाँका नागरिकको पिउने पानीको समस्या समाधान हुने बताए ।

उनले भने, ‘अब पानीका लागि ट्याङ्करको भरमा बस्नुपर्ने दिन सकिएको छ । असार महिनामा पनि मेलम्चीको पानी बन्द हुने छैन । नियमित पानी आपूर्ति सुनिश्चित गर्न सरकारले आवश्यक सबै विकल्प र पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ ।’

मन्त्री यादवले खानेपानी पहुँच सबै नागरिकको मौलिक अधिकार भएकाले यसलाई सुनिश्चित गर्न मन्त्रालय कटिबद्ध रहेको बताए । साथै, उनले आगामी दिनमा काठमाडौँ मात्र नभई अन्य सहरी क्षेत्रमा पनि सुरक्षित र पर्याप्त पानी आपूर्ति सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।

काडमाडौँ उपत्यकामा बर्खाको समयमा पनि मेलम्चीको पानी बन्द नगरी दैनिक पानी वितरण गर्ने योजना अनुसार काम सुरु गरिएको र अब उक्त काम करिब करिब अन्तिम चरणमा पुगेको जानकारी दिलाए ।

उनले भने, ‘बर्खाको समयमा बाढीले मेलम्चीको मुहानमा क्षति पुर्‍याउने जोखिम बढ्ने भएकाले मुहानको ढोका मात्रै बन्द हुन्छ, तर पानी बन्द हुँदैन । हामीले त्यहीँ मेलम्चीको सुरुङ मार्फत पानी ल्याएर काठमाडौँमा वितरण गर्ने योजना बनाएर काम गरेका छौँ । यो वर्ष बर्षात्को समयमा पनि पानी काठमाडौँ आउँछ ।’

यसैगरी मन्त्री यादवले नेपाल सरकारले खानेपानी तथा सरसफाइ नियमावली, २०८१ जारी गरिसकेको र आयोगले खानेपानी महसुल निर्धारण निर्देशिका, २०८१ पनि सार्वजनिक गरिसकेको अवस्थामा अब उपभोक्ता समितिहरूले सेवा प्रवाहसँगै महसुल निर्धारण सम्बन्धी प्रस्तावहरू खुला र पारदर्शी आधारमा तयार गरी आयोगमा प्रस्तुत गर्न सक्ने बताए ।

कार्यक्रममा खानेपानी उपभोक्ता महासङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद अर्याल, नेपाल खानेपानी संस्थानका अध्यक्ष डा। ढुण्डराज भट्टराई, महाप्रवन्धक अर्जुनबाबु ढकाल, काठमाडौँ उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्