काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय छानबिन समिति गठनको विषयमा भएको छलफल विना निष्कर्ष सकिएको छ । कांग्रेसले छानबिन समिति गठन गर्न अस्वीकार गरेपछि सहमति हुन नसकेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको बैठकमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा.स्वर्णिम वाग्ले,शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।
रास्वपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठकमा जारी अवरोध हटाउन भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राखेको थियो । तर, कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा छानबिन गरिरहेको भन्दै संसदीय समिति वा जाँचबुझ आयोग गठन गर्न नसकिने अडान लिएको छ ।
कांग्रेसले रास्वपासँग यो दोस्रो चरणको छलफल गरेको हो । यसअघि, कांग्रेसले माओवादी केन्द्रसँग पनि छलफल गरेको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन् ।
कांग्रेसले अख्तियारको छानबिनमा सहयोग गर्ने, छानबिन सम्पन्न भएपछि अध्यागमनमा देखिएका समस्याहरू समाधान गर्न र सुधारका लागि आवश्यक संरचनागत तथा कानुनी कदमबारे सुझाव दिन समिति गठन गर्ने प्रस्ताव राखेको छ । तर, यो प्रस्तावलाई प्रतिपक्षी दलहरूले स्वीकार गरेका छैनन् ।