काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘भन्सार विधेयक, २०८०’ सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो विधेयकले भन्सार प्रशासन र राजस्व परिचालनमा देखिएका समस्याहरू समाधान गर्ने विश्वास व्यक्त गरे ।

“यो विधेयकले राजस्व चुहावट रोक्न, भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन तथा अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन महत्त्वपूर्ण योगदान दिनेछ,” पौडेलले भने । प्रस्तावमाथिको छलफलमा सांसदहरू गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, डा। बेदुराम भुसाल, तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा र गोपाल भट्टराईले भाग लिएका थिए ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमा संशोधन राख्न चाहने सांसदहरूलाई सभाअन्तर्गतको विधेयक शाखामा संशोधन दर्ता गर्न सकिने जानकारी दिए ।
यसअघि, बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन पेस गरेकी थिइन् । साथै, राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरे ।