काठमाडौं । अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर काठमाडौं आइपुगेका ३७ नेपाली नागरिकलाई प्रहरीले सामान्य सोधपुछपछि घर पठाएको छ । आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३२ पुरुष र ५ महिला ओम्नि एयर इन्टरनेशनलको चार्टर्ड विमानमार्फत नेपाल आइपुगेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूमध्ये पाँच महिलासहित ३५ जना अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए । बाँकी दुईजना भने वैधानिक रूपमा गएका थिए । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, एसपी नरेन्द्र कुँवरका अनुसार तीमध्ये एक जना डीभी परेर गएका थिए भने अर्का एक जना विद्यार्थी भिसामा अमेरिका पुगेका थिए । उनीहरू पनि निष्कासनमा परेका हुन् ।
डिपोर्ट भएका यी व्यक्तिहरू एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर नेपाल आएका हुन् । उनीहरूमध्ये एक जनासँग मात्र नेपाली राहदानी फेला परेको छ भने बाँकी सबैजना अमेरिकी अध्यागमन कार्यालयद्वारा जारी ‘ट्राभल डकुमेन्ट’ सहित फर्किएका छन् ।
सन् २०२२ देखि २०२५ को मार्चसम्म विभिन्न समयमा अमेरिका प्रवेश गरेका केही व्यक्तिहरू यसपटक फर्किएका हुन् । उनीहरूले आफ्नो लगेज बोरामा लिएर फर्किएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले बताएका छन् ।
प्रहरीका अनुसार उनीहरू विभिन्न बाटो हुँदै पनामाको जङ्गल पार गर्दै मेक्सिकोको सिमाना काटेर अमेरिका प्रवेश गरेका थिए । अमेरिका पुगेपछि उनीहरू धेरैजना ‘शरणार्थी’ मान्यता पाउने प्रयासमा थिए, तर मान्यता नपाउँदै निष्कासनमा परेका हुन् । लामो समयदेखि अमेरिकी अध्यागमन र कस्टम इन्फोर्समेन्टको थुनामा रहेपछि उनीहरूलाई फिर्ता पठाइएको हो ।
बिचौलियामार्फत अमेरिका पुगेका यी व्यक्तिहरूले करिब ८० लाख रुपैयाँसम्म खर्च भएको बताएका छन् । तर, मानव तस्करीमा संलग्न गिरोहको बारेमा भने उनीहरूले प्रहरीलाई स्पष्ट जानकारी दिएका छैनन् ।
फर्किनेहरूमध्ये धेरैजना दाङ, पूर्वी रुकुम र पश्चिम रुकुमका हुन् । साथै, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ र म्याग्दीका केही व्यक्ति पनि फर्किएका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि हालसम्म उनीहरू सहित कूल १७७ जना नेपाली डिपोर्ट भएको तथ्यांकमा उल्लेख छ ।