काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको मुद्दामा मिसिल कागज मगाउने आदेश जारी गरेको छ । आक्रमणमा संलग्न मुख्य योजनाकार मानिएका योगेन्द्र रावलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले उक्त आदेश दिएको हो ।

यसअघि काठमाडौं जिल्ला अदालतले रावलसहित हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुज श्रेष्ठलाई २ वर्ष कैद र २८ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध आरोपितहरू उच्च अदालत गएका थिए, तर उच्च अदालतले पनि जिल्लाको फैसला सदर गरेको थियो ।
उच्च अदालतको निर्णयपछि रावलले गत जेठ १३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै साङ्घातिक आक्रमण भएको थियो ।