काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैङ्क लिमिटेडका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले डा.अधिकारीमाथि रुपन्देहीको भुसाल हस्पिटालिटीलाई नेपाल बैङ्कबाट १ अर्ब ७७ करोड २९ लाख रुपैयाँको ऋण प्रवाहमा सहयोग गरेर घुस लिएको आरोप लगाएको छ । उक्त प्रकरणमा हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुसालसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ । गत माघ २९ गते अधिकारीलाई नियन्त्रणमा लिएपछि अनुसन्धान सुरु भएको थियो । पछि राष्ट्र बैङ्कको निर्देशनमा उनलाई अध्यक्ष पदबाट हटाइएको थियो ।
यसैगरी, हिमाल तराई कन्स्ट्रक्सन र अकला देवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गरेको भन्दै डा.अधिकारीसहित दुई जनाविरुद्ध थप दुईवटा मुद्दा दायर गरिएको छ । यी तीनवटै मुद्दा अख्तियारले एकैदिन दायर गरेको हो ।