काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रका उपलब्धिहरूलाई स्वीकार गर्न नसक्नेहरूले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले सबै अधिकार र योगदान लोकतन्त्रका उपलब्धि भएको उल्लेख गरे । उनले लोकतन्त्रले मध्यम वर्गको उल्लेखनीय उदय भएको बताए ।

पोखरेलले हालका उपलब्धिहरू हासिल भए पनि राजनीतिक अस्थिरताले धेरै काम गर्न नसकिएको स्वीकार गरे । “राजनीतिक अस्थिरताका कारण हामीले अवसरहरूको पूर्ण सदुपयोग गर्न सकेका छैनौँ । अब बलियो राष्ट्रिय शक्ति, सुदृढ राजनीतिक दल र स्थिरता आवश्यक छ। त्यसैका लागि एमालेले मिसन २०८४ तय गरेको हो,” उनले भने ।
पार्टीभित्र साङ्गठनिक अराजकता र व्यक्तिवादी अवसरवाद बढिरहेको भन्दै उनले त्यस विरुद्ध कडा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याए । “हाम्रै पार्टीभित्र मौलाएको अराजकता र अवसरवादलाई परास्त गर्नु आजको प्रमुख चुनौती हो,” उनले भने ।
एमाले समाजवादको लक्ष्य बोकेर अघि बढेको पार्टी भएको बताउँदै पोखरेलले समाजवादमा पुग्न स्पष्ट विचार, दृष्टिकोण र साङ्गठनिक एकता अपरिहार्य भएको बताए । उनले समाजवादलाई ‘मानिसको सक्षम, सुखी र समृद्ध जीवन’को मार्गका रूपमा परिभाषित गर्नुपर्ने बताए । साथै, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणाले समाजवादको आधार तयार गर्ने उनको भनाइ छ ।