काठमाडौं । लस एन्जलसमा आन्दोलन चर्किँदै गएपछि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विशेष तालिम प्राप्त सैनिक परिचालन गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध भएका प्रदर्शनलाई नियन्त्रण गर्न पेन्टागनले सैनिक परिचालन गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार त्यहाँ एक मरिन बटालियन अर्थात् करिब ७०० विशेष तालिमप्राप्त सैनिक परिचालन गरिएको छ । पेन्टागनले सोमबार सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘यी सैनिकहरूलाई संघीय कर्मचारी तथा सम्पत्तिको सुरक्षा गर्न सक्रिय गरिएको हो ।’ तर, यसअघि नै ट्रम्पले लस एन्जलसमा २००० नेशनल गार्ड पठाइसकेका थिए ।
पेन्टागनका प्रवक्ता शोन पर्नेलले लस एन्जलसमा थप २००० नेशनल गार्ड सैनिकहरू पनि परिचालित गरिने बताएका छन् ।
यस्तै, राज्य सरकारले भने संघीय कदमको कडा विरोध गरेको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले नेशनल गार्डको तैनाथीविरुद्ध कानुनी चुनौती दर्ता गरिसकेका छन् ।
सैन्य निकायका अनुसार यी मरिन सैनिकहरूलाई मुख्य संघीय एजेन्सीको नेतृत्वमा क्षेत्रको निरन्तर निगरानी र सुरक्षाका लागि सहयोग गर्न खटाइएको छ । मरिन सैनिकहरू सामान्य सैनिकभन्दा फरक, विशेष तालिम प्राप्त हुन्छन्, जसले समुद्री, स्थल र आकस्मिक स्थितिमा तत्काल प्रतिक्रिया जनाउन सक्छन् ।
ट्रम्प प्रशासनका एक अधिकारीले यी मरिनहरू केवल नेशनल गार्ड र अन्य कानुन कार्यान्वयन निकायहरूको सहायक भूमिकामा मात्र रहने रोयटर्ससँग भनेका छन् ।