काठमाडौं । युके ‘पठाइदिने’ भन्दै ११ करोड भन्दा बढी रकम ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौंको सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा घर भई काठमाडौंको नरेफाँट बस्ने ४७ वर्षीय अरूणराज शर्मा रहेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता काजीकुमार आचार्यले अहिलेसम्म ३८ जना पीडित सम्पर्कमा आएको बताएका छन् । उनीहरूबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ रकम ठगेको आरोप छ ।
वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंले उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन भनेपछि कार्यालयले उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई सोमबार नै विभागमा बुझाइसकेको प्रहरीले जनाएको छ ।