Logo
Logo

नेपालमा तत्काल वाम एकता सम्भव छैन : विद्या भण्डारी


1.3k
Shares

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको बताएकी छन् । सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको उनको भनाइ छ । साथै, अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भाबी नेतृत्वबारे उनीबारे दिएको अभिव्यक्तिबारे उनले भनिन्, ‘म देश दौडामा निस्किँदा एमालेलाई सोध्नु पर्दैन ।

तपाईं पूर्व आउँदा काठमाडौंमा भुइँचालो किन जान्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यस्तो त मलाई थाहा छैन मलाई । पूर्वमा खासगरी म दुईवटा कार्यक्रमको सन्दर्भमा आएको हुँ ।’

उनले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय स्तरको कार्यक्रमका लागि आएको भन्दै उनले भनिन्, ‘अहिले आईटीको युगमा मलाई पनि रुचि थियो । उहाँहरुले निमन्त्रण गर्नुभयो र त्यो कार्यक्रमको लागि आएको हुँ । त्यसो हुँदा राम्रो कुराको प्रचार प्रसार हुन्छ भने हामी सबै खुसी हुनुपर्छ ।’

यस्तै, तपाईं सक्रिय राजनीतिमा आउन लागेको हो ? भन्ने प्रश्नमा उनले भनिन्, ‘म त्यस्तो व्यक्ति परेँ कि म जहाँ जन्मे, हुर्कें र यो स्थानमा पुगेँ । त्यो समाजबाट आजको मितिसम्म आउँदाखेरि एउटै लाइनमा म छु । तपाईंहरुले यसो हेर्नुभयो भने बुझ्नु हुन्छ । पहिलेदेखि नै वामपन्थी आन्दोलनमा लागियो । त्यसको पनि एउटा खास धार, एउटा संगठन हामी आयौं । अहिलेसम्म पनि, म राष्ट्रपति हुँदासम्म पनि नेकपा एमालेले प्रस्ताव गरेर अरु वापमन्थी र अरु क्षेत्रीय पार्टीहरुले समेत समर्थन गरेर म देशको राष्ट्रपति भएको हुँ ।’

अर्को प्रश्नमा उनले भनिन्, ‘यो लाइनको कुरा गर्ने हो भने सदैव वामपन्थी भित्रको एउटा खास धारमा अहिलेसम्म प्रभावित भइरहेको छु । त्यो भन्दाखेरि अब विद्या भण्डारी पार्टीगत राजनीतिमा के हुन्छ ? कहाँ जानु होला भन्ने प्रश्न होला । पार्टीगत रुपमा हेर्दाखेरि त म जुन पार्टीबाट जन्में, हुर्कें र यो स्थानमा पुगें । त्योभन्दा फरक त सोच्न सकिने कुरा भएन ।’

उनले एउटा समृद्ध राष्ट्रको जुन परिकल्पना गरिएको छ, त्यो नेपाली विशेषताको समाजवादी अवधारणालाई कार्यान्वयन गर्ने र न्यायपूर्ण समाज निर्माण गर्ने भन्ने जुन कुरा भएको बताइन् ।

उनले पार्टीभित्र गुटबन्दी भइरहेको भन्ने कुरालाई भने नकारिन् । उनले भनिन्, ‘त्यो विषयमा त नेकपा एमालेको वर्तमान अध्यक्षज्यू केपी शर्मा ओली ज्यूले मलाई नै तोकेरै, ताकेरै भन्नु भयो होला भन्ने त लाग्दैन । र, म कहिले गुट नगरेर मूलधारको राजनीति गरिराखेको मान्छे, उहाँले त्यो भन्नै मिल्दैन ।’

अब नेपाली नागरिकहरुले देशको अवस्था बुझ्ने नयाँ नेतृत्व खोजेका हुन् ? भन्ने प्रश्नमा उनले भनिन्, ‘म सुन्दैछु, बुझ्दै छु । अहिलेको प्रणालीको बारेमा जनताहरु सन्तुष्ट छन् । स्वतन्त्रता एकदमै राम्रो छ । जनताका छोराछोरी आफ्नो दक्षता प्रयोग गरेर काम गर्न सक्ने वातावरण छ । तर अहिले संसार जसरी विकास भइरहेको छ नि त्यो विकासको त यहीँ बसीबसी मिनेटभरमा हाम्रा जनताले, नवपुस्ताहरुले हेरिराखेका हुन्छन् । त्यसैले विकासको आकांक्षा बढी छ ।’

चीन भ्रमण गरेर आइसकेपछि नेपालमा वाम एकताको अलि बढी चर्चा भइरहेको र यसलाई कसरी सहजीकरण गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘नेपालमा पहिलेदेखि वाम एकताको चर्चा परिचर्चा छ । यो समयको आवश्यकताले हुने कुरा हो । वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन । त्यसैले म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त पनि छैन । किनकी यहाँ पार्टीहरुबीच विश्वासको ठूलो संकट छ ।’

प्रतिक्रिया दिनुहोस्