काठमाडौं । नेपाल प्रहरीले सोलुखुम्बुको गोक्यो तालमा आत्महत्याको योजना बनाएका ३६ वर्षीय चिनियाँ पर्यटक छेई हुवाङको उद्धार गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावास र पेम्बा शेर्पाबाट जानकारी प्राप्त भएपछि पर्यटक प्रहरीको टोलीले मंगलबार बिहान उनलाई सकुशल उद्धार गरेको हो ।

हुवाङले आफ्नो ३६औँ जन्मदिनमा गोक्यो तालमा आत्महत्या गर्ने योजना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । उनको परिवारले चिनियाँ दूतावासमार्फत उद्धारका लागि अनुरोध गरेको थियो । दूतावासले उच्च उचाइका लागि हेलिकप्टर व्यवस्था गरेको थियो ।
घटनास्थलमा पुग्दा हुवाङलाई गोक्योको ‘टंक इन होटल’का सञ्चालकले सम्झाइरहेका थिए, तर उनी प्रहरीको अनुरोधमा पनि तत्काल आउन मानेनन्। करिब आधा घण्टाको प्रयासपछि प्रहरीले उनलाई काठमाडौं ल्याउन सफल भयो । हाल उनी भृकुटीमण्डपस्थित पर्यटक प्रहरीको निगरानीमा छन् र दूतावासको जिम्मा लगाउने तयारी छ ।