काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन् । मङ्गलवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो ऐनबाट सरकारले जे कुरा सम्बोधन गर्न ल्याएको हो, त्यसरी नै टुंग्याइदिउँ । ऐन बनाउँदै जाँदा, काम गर्दै जाँदा ऐनले तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर हामीले जोड दिन जरुरी छ। त्यो भएन भने भावना हामी राख्दै गर्ने, तत्काल निर्णय गर्नसक्ने कुराहरू पनि ल्याएर जोडेर एकै चोटी सबै गर्छौँ भन्दा केही पनि नहुने हुन्छ। हामी उदार पनि बनौँ, संवेदनशीलतालाई असर पर्नेगरी पनि नजाऔँ । संवेदनशीलताको नाममा सदैव जटिलतामा हामी घुमिरहने, नागरिकले सधैँ दुःख पाइरहने काम गर्नु हुँदैन। कहीँ न कहीँ ब्रेक थ्रु गर्नुपर्छ।’ पछिल्ला केही दिनयता समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ।