Logo
Logo

राजविराज नगरपालिकामा झडप: लेखा अधिकृत कुटिए, उपमेयर थुनिइन्


1.8k
Shares

सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ। प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको विषयमा जारी आन्दोलनले झडपको रुप लिँदा आज ( मंगलबार) लेखा अधिकृत शत्रुधनलाल दास कार्यालय परिसरमै कुटिएका हुन्।

दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ। निलम्बित मेयर भीमराज यादवको निर्देशनमा आफूमाथि कुटपिट भएको उनले आरोप लगाएका छन्। उनले ४-५ जनाले कुटपिट गर्दै सुनको सिक्री समेत खोसेको आरोप लगाएका छन्।

भ्रष्टाचार गर्न उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराएको आरोप लगाउँंदै नगरपालिकामा तालाबन्दी गरेर धर्ना बसिरहेका निलम्बित मेयर यादवले भने कार्यवाहक मेयर इसरत परविन र कर्मचारी मिलेर आफूहरुलाई नै कुटपिट गर्ने प्रयास गरेको बताएका छन्।

‘हामी शान्तिपूर्ण रुपमा धर्ना बसिरहेका थियौं, प्रहरी लिएर आएका उनीहरुले जबरजस्ती ताल्चा फोडेर हामीमाथि कुटपिटको प्रयास गरे । सो क्रममा ९ नम्बरका वडाध्यक्षलाई पनि चोट लागेको छ,’ उनले भने, ‘निमित्तलाई जिम्मेवारीबाट हटाएर उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत नल्याएसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’

प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सरुवा गराएर आठौं तहका शिक्षा शाखामा कार्यरत कर्मचारी भोगेन्द्रप्रसाद यादवलाई निमित्त दिएपछि उनीहरुले आइतबारदेखि नगरपालिकामा तालाबन्दी गरी धर्ना बसिरहेका छन्। ती विषय समाधान गर्न सोमबार दुवै पक्षबीच लामो समय छलफल हुँदा समेत टुंगो नलाग्दा विवाद बढ्दै गएको छ।

कार्यालयमा समय नदिँदा डा. साहलाई सरुवा गराउन बाध्य भएको कार्यवाहक मेयर परविनले बताइन्। ‘हामीले पनि उपसचिव नै मागेका थियौं तर मन्त्रालयमा उपसचिव अभाव रहँदा असारसम्मका लागि निमित्तबाटै कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आयो,’ उनले थपिन्, ‘यो व्यर्थको आन्दोलन हो, कसैले भ्रष्टाचार नै गर्‍यो भने त्यसलाई निगरानी गर्ने निकाय छैन र ?’

एसपी ढकेन्द्र खतिवडाले कर्मचारीमाथि कुटपिट भएको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । अहिले नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविन थुनिएकी छन्। बाहिर आन्दोलन चर्काएपछि उनी करिब तीन घण्टादेखि बाहिर निस्किन सकेकी छैनन् । कार्यालयमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन भएका छन्।

प्रतिक्रिया दिनुहोस्