काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरू निर्यात गर्न नसकेको बताएका छन् । काँग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति शृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरसंवादमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सीमानाकामा नेपाली नागरिकलाई धेरै दुःख दिन नहुने बताए ।

उनले नेपाल आयातमा निर्भर रहेको भन्दै आत्मनिर्भरतातर्फ अग्रसर हुनुपर्ने बताए । देउवाले उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने बताए । व्यापारी र उद्योगीहरूलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गर्दै आफूहरू सहयोग गर्न तयार रहेको बताए ।
उनले नेपालको उत्पादन गुणस्तरीय हुनसके विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने बताए । पहाडमा वृक्षारोपण गर्न र पहाड बचाउन जरुरी रहेको बताए । नेपाललाई हराभरा बनाउन जरुरी रहेको बताए ।
उनले भने, ‘नेपालीहरूलाई बोर्डरमा धेरै दुःख दिनु हुँदैन । खासगरी उपभोक्ता मान्छे बाहेक केही निर्यात नै छैन यहाँबाट । त्यस्तो अवस्था छ । अरू केही निर्यात गर्नै सकेका छैनौँ। आयातमा भर पर्नुपर्ने कुरा छ ।’
सभापति देउवाले जलवायु परिवर्तनका कारणले नेपालका हिमाल नाङ्गो भइसकेको बताए। उनले नेपालले ४० प्रतिशत जङ्गल बचाउँदा केही राहत भइरहेको बताए। जलवायु परिवर्तनका कारण नेपाल धेरै ठुलो समस्यामा पर्ने जिकिर गरे ।