काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको जारी महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । गएराति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो । ३२ वर्षे उमेरहद लागेपछि अध्यक्षमा दुईजना प्रतिस्पर्धी देखिएका छन् ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा प्रकाश पौडेल र डा. सुजन कडरियाको उम्मेदवारी परेको छ । एक महिला र एक खुला उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ ।
खुला उपाध्यक्षतर्फ राजकुमार ढकाल, विकास श्रेष्ठको उम्मेदवारी परेको छ । महिलातर्फ आरती भट्टराई, अञ्जना शिवाकोटी, भवानी बजगाईंको उम्मेदवारी परेको ती सदस्यले बताए । महासचिवमा दीपक धामी, आरके रोमश, सुनील कँडेलको उम्मेदवारी दर्ता भएको छ ।
एमालेको संशोधित नीतिअनुसार अनेरास्ववियुको पदाधिकारी ९ सदस्यीय हुनेछ। १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । पदाधिकारीमै ५० जना हाराहारीको उम्मेदवारी परेको छ । चारजना सचिवका लागि २६ जनाभन्दा बढीको उम्मेदवारी परेको छ । केन्द्रीय कमिटीको उम्मेदवारको संख्या नै ६ सय भन्दा बढीको रहेको छ ।
अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ल लगायत नेताहरूले कोसिस गरेका थिए ।
मंगलबार बन्द सत्रको हलमा सहमतिका लागि नाम प्रस्तावसमेत गरिएको थियो। अध्यक्ष मण्डलका तर्फबाट डा. सुजन कडरियाको नेतृत्वमा प्रकाश पौडेल र अञ्जना शिवाकोटीलाई उपाध्यक्ष र दीपक धामीलाई महासचिवको प्रस्ताव गरिएको थियो ।
पौडेल समूहले नाराबाजी गरेर निर्वाचनका माग गरेपछि अध्यक्ष मण्डल चुनावबाटै नेतृत्व चयन गर्न राजी भएको हो । अध्यक्ष मण्डलको नाम प्रस्तावपछि अनेरास्ववियुमा दुई खेमा देखिएको छ । एउटा खेमाको नेतृत्व पौडेलले गरेका छन्। अर्को खेमाको नेतृत्व डा. कडरियाले गर्दै प्रतिनिधिहरूको बीचमा मत मागिरहेका छन् ।
मतदानको समय बुधबार बिहान १० देखि ५ बजेसम्म तय गरिएको छ । तर अझै सहमतिको प्रयास गरिने भएकाले चुनावको समय सर्न सक्ने बताइएको छ ।