काठमाडौं । पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

पाठकविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको स्रोतको भनाइ छ । पत्रकार पाठकले केही साताअघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत ‘हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबीर’बारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए । त्यही भिडियोबारेमा पाठकविरुद्ध उजुरी परेपछि पुर्जी लिएको अनुमान गरिएको छ ।
साइबर ब्युरोले भने यसबारे आधिकारिक रुपमा अहिलेसम्म केही बताएको छैन । ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले यसबारे अहिलेसम्म ब्युरोमा यस विषयमा केही नआएको बताएका छन् ।