काठमाडौं । नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने निष्कर्ष निकालेको छ ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको ५ बुँदे प्रस्तावमा माओवादीलगायतका विपक्षी दलले समर्थन जनाएका छन् । बुधबार रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन बसेको बैठकले आफ्नो माग यथावत् रहेको निष्कर्ष निकालेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
आफूहरूले छानबिन समितिको माग राखेकोबारे अहिले विभिन्न चरणमा छलफल चलिरहेको उनले बताए ।
बैठकमा माओवादीबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीबाट प्रभु साहलगायत सहभागी थिए । राप्रपा भने बैठकमा सहभागी थिएन ।
विपक्षी दलले आफ्नो अडान नछाडेपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।