
काठमाडौं । सरकारले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जानकारी दिएको हो ।
कालो सूचीमा राखिएका निर्माण कम्पनीमा मुख्य व्यक्ति दिग्वीजय जंग राणा रहेको श्री माँ त्रिपुरा सुन्दरी निर्माण सेवा बाँके र मुख्य व्यक्ति गोपाल प्रसाद घिमिरे रहेको सूर्यविनायक कन्ट्रक्सन दाङ रहेको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । ती कम्पनीले कालोसूचीमा राखिएको अवधीभर कुनैपनि सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउनेछैनन् ।
