Logo
Logo

एयर इण्डिया विमान दुर्घटना : एकमात्र बाँचेका यात्रु विश्वासकुमार के भन्छन् ?


11.1k
Shares

काठमाडौं । बिहीबार अहमदावादमा भएको एयर इण्डियाको विमान दुर्घटनामा २४२ मध्ये २४१ जनाको मृत्यु भएको छ । एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै एआई १७१ उडान संख्या रहेको उक्त विमान बिहीबार दिउँसो अहमदाबाद सहरको विमानस्थलबाट उडेको जनाएको छ । विमानले रनवे छोडेका केही क्षणमै दुर्घटनाग्रस्त हुँदा २४१ जना यात्रुको निधन भएको पुष्टि गरेको छ ।

एयर इण्डियाका अनुसार एकमात्र यात्रु जीवित छन् । उनको अहिले उपचार भइरहेको छ । बीबीसीका अनुसार एयर इण्डियाले भनेको छ, ‘हाम्रा सबै आगामी कदम प्रभावित, तिनका परिवार र प्रियजनको आवश्यकतातर्फ केन्द्रित भएका छन् ।’

तस्बिर-रोयटर्स

को हुन् एकमात्र जीवित यात्रु ?

बीबीसीका अनुसार भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्रिटिश नागरिक विश्वासकुमार रमेशलाई आफू कसरी बच्न सकेँ भनेर कुनै पत्तो नभएको उनका आफन्तहरूले बताएका छन् ।

यूकेको लेस्टरस्थित उनको घरबाहिर उनका भाइ नयनकुमारले भने, ‘हामी यो खबर सुनेदेखि नै स्तब्ध थियौँ ।’ दुर्घटनापश्चात् आफूसँग कुरा गर्दै विश्वासकुमारले भनेको उद्धृत गर्दै उनले भनेका छन्, ‘मलाई थाहा छैन म कसरी प्लेनबाहिर आइपुगेँ ।’

जय नामका अर्का आफन्तका अनुसार दुर्घटनाबाट बचेपछि विश्वासकुमारले उनका पितासँग कुरा गर्दा सोही विमानमा भएको ठानिएका उनका अर्का भाइ अजयको बारेमा सोधेका थिए । जयले भने, ‘विश्वासकुमारका पिताले बताएअनुसार उनको मुहारमा केही चोटपटक लागेको छ ।’

विश्वासकुमार उक्त बोइङ् ७८७ उडानमा ११ए अंकको सिटमा थिए । सामाजिक सञ्जालमा राखिएका भिडिओमा रमेश एम्बुलेन्सतर्फ हिँडिरहेको देखिन्छ, पछाडि धुवाँको मुस्लो छ ।

उनलाई अस्पतालमा पुगेर भारतीय गृहमन्त्री अमित शाहले भेट गरेका छन् । उनलाई उपचार गरिरहेका चिकित्सक डा धवल गामेटीले उनको शरीरभरि घाउहरू भएको बताएका छन् । उनले भने, ‘अलि आफ्नो वरपर के भएको छ भन्ने भेउ नपाएको जस्तो देखिन्छन् । तर खतरामुक्त देखिन्छन् ।’

भारतमा जन्मिएका उनी यूकेमा सन् २००३ देखि बस्दै आएका थिए । उनको पत्नी र चार वर्षीय एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्