Logo
Logo

यी हुन् धरौटीमा छुट्ने तीनकुने घटनाका ३२ आरोपी


882
Shares

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि कारागार चलान हुँदा ३२ प्रतिवादी रिहा भएका छन् । बिहीबार मध्यरात काठमाडौं जिल्ला अदालतले तिनकुने घटनामा फैसला सुनाउँदै सात् जनालाई कारागार चलान गर्दा ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

कारागार चलान हुनेहरुमा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् । त्यस्तै न्यायाधीश ध्रुबराज कार्कीले ३२ जनालाई १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म धरौटीमा रिहा गर्न आदेश दिएका छन् ।

हरिहर चौलागाईँ, सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल, भिम भन्ने हेमराज थापा, विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेतलाई जनही एक लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न अदालतको आदेश छ ।

यस्तै निराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, दिनेश खड्का, अमित शाह र जितबहादुर श्रेष्ठलाई ५० हजार रुपैयाँका दरले धरौटी तोकिएको छ । गोपाल मल्ल, पुष्कर खतिवडा, कुमार बस्नेत, मनबहादुर काला, रमेश राई, कमल कुमार विष्ट, लोकबहादुर बस्नेतलाई २० हजार रुपैयाँका दरले धरौटी तोकिएको छ।

बाँकी १६ जनालाई १० हजार रुपैयाँका दरले धरौटीमा रिहा गर्न अदालतको आदेश छ । पशुपति खड्का, विष्णु पराजुली, मुनेन्द्रराज भण्डारी, अनिलकुमार थापा, गोपाल बोहरा भन्ने तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, ओमप्रकाश लुइँटेल, तेजेन्द्र रायमाझी, दिवश बोगटी क्षेत्री, दिलकुमार श्रेष्ठ, सुमन कार्की र मनोजकुमार सापकोटालाई १० हजारका दरले धरौटी माग गरिएको हो । उनीहरु उक्त धरौटी बुझाएर छुट्न सक्नेछन् ।

यही मुद्दाका ११ जना प्रतिवादीहरु भने फरार छन्। फरार रहनेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्