Logo
Logo

प्रहरीमा स्वच्छता, निष्पक्षता र पारदर्शिता हुनुपर्छ : प्रधानमन्त्री ओली


441
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणमुखी र प्रभावकारी बनाएर न्याय निरूपणमा सघाउन प्रहरी र सरकारी वकिलहरूलाई आग्रह गरेका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले तथ्य र प्रमाणमा आधारित अनुसन्धानले मात्र न्याय सम्पादनमा स्पष्टता ल्याउने बताए ।

“समाजमा अन्याय रोक्न र न्यायपूर्ण समाज निर्माण गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ,” प्रधानमन्त्री ओलीले भने, “यसका लागि सक्षम, इमानदार र दीक्षित जनशक्ति, पर्याप्त स्रोत र प्रविधिको आवश्यकता पर्छ ।” उनले प्रहरीमा स्वच्छता, निष्पक्षता र पारदर्शितालाई जोड दिँदै सरकारले प्रहरीको सेवा–सुविधामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले अपराधीहरूले अपराध लुकाउन प्रविधिको दुरुपयोग गर्ने भएकाले प्रहरीलाई पनि नवीन प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउनुपर्ने बताए । “त्रुटिरहित अनुसन्धानले मात्र न्यायको बाटो पहिल्याउँछ,” उनले भने, “अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी सधैँ तयार हुनुपर्छ ।”

सम्मेलनमा गृहमन्त्री रमेश लेखक, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थिति थियो । प्रधानमन्त्री ओलीले प्रणालीगत सुधारमार्फत समान अधिकार र अवसर सुनिश्चित गर्न, सुशासन र विकासलाई प्राथमिकता दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन सबैलाई सक्रिय हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्