काठमाडौं । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षा प्रोटोकल पालना गर्न र सतर्क रहन आग्रह गरेको छ । दूतावासले शुक्रवार जारी गरेको सूचनामा हालको क्षेत्रीय तनावलाई मध्यनजर गर्दै विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

सूचनामा भनिएको छ, ‘पछिल्लो समय विकसित परिस्थितिका कारण इजरायली होम फ्रन्ट कमाण्डले सर्वसाधारणका लागि नयाँ सुरक्षा निर्देशन जारी गरेको छ । नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अद्यावधिक सुरक्षा प्रोटोकलको जानकारी लिन, ती निर्देशन पालना गर्न, आफ्नो सुरक्षामा विशेष ध्यान दिन र सुरक्षित आश्रयस्थल नजिकै रहन हार्दिक अनुरोध छ ।’
इरान र इजरायलबीच तनाव चर्किएको छ । इजरायलले बिहीबार राति इरानमाथि आक्रमण गरेको थियो भने इरानले पनि जवाफी कारबाहीस्वरूप ड्रोन आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायलको ‘अपरेसन राइजिङ लायन’ सैन्य अभियानपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्डका कमान्डर–इन–चिफ जनरल हुसेन सलामी र सर्वोच्च सैन्य अधिकारी मेजर जनरल मोहम्मद बागेरीको मृत्यु भएको छ ।