काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन खुलाउनेबारे तीन दलबीच सहमति भएको बताएका छन् ।

उनले अब प्रतिनिधि सभा बैठक सञ्चालन हुने पनि बताए । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज दुई बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।
सहमितको पहिलो बुँदामा ‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अस्तियार दुरूपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ’ लेखिएको छ।
दोस्रो बुँदामा ‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्न’ भन्ने उल्लेख छ।
कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकबीच सहमतिमा हस्ताक्षर भएको हो । यो सहमतिमा रास्वपाले हस्ताक्षर गरेको छैन। रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान छाडेको छैन ।
यस विषयमा रास्वपा केही समय आफ्नो ढङ्गले अघि बढ्ने भए पनि आरोप९प्रत्यारोप भने नहुने अध्यक्ष प्रचण्डले बताए । रास्वपा र अध्यक्ष प्रचण्डबीच आज छलफल पनि भएको थियो ।














