काठमाडौं । इजरायली आक्रमणको इरानले जवाफी कारबाही गरेको छ । बिहीबार राति इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एयर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीहरूमाथि एकैपटक आक्रमण गरेको थियो । त्यसपछि इरानले पनि इजरायलमाथि जबाफी हमला गरेको हो ।

इरान र इजरायलबीच शुक्रबार रातभरि एकअर्कालाई आक्रमण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इजरायलले इरानको राजधानी तेहरान आसपास भीषण हमला गरेपछि इरानले पनि इजरायलको राजधानी तेल अभिभ र जेरूसलेममा हवाइ हमला गरेको छ ।
बिहीबार राति इरानले इजरायलमाथि २०० भन्दा बढी लडाकू विमानसहित तीनसय बढी हतियार प्रयोग गरी इरानमा हमला गरेको थियो । उसले कम्तिमा एक सय लक्ष्यहरूमा निशाना बनाएको भनिएको छ । बिहीबार नै इरानले एक सय वटा ड्रोन तेल अभिभ र जेरूसलेममा प्रहार गरेको समाचारमा जनाइएको छ । तर, ती ड्रोनहरु इजरायलले अधिकांश निस्तेज पारेको बताएको छ ।
शुक्रबार राति भने उसले ब्यालिस्टिक मिसाइल प्रयोग गरी इजरायलमा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी तेल अभिभ र जेरूसलेममा विस्फोटका ठूला आवाजहरू सुनिएको भनेर त्यहाँका स्थानीयहरूले बताएका छन् । जेरूसलेम र तेल अभिभका एयर डिफेन्स सिस्टम रातभरि सक्रिय रहेको समाचारमा उल्लेख छ ।

शुक्रबार रातिको इरानी हमलाबाट इसराइलमा भौतिक क्षति र मानिसहरू घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ । इरानको आक्रमणबाट इसराइलको गुस दान क्षेत्रमा ३४ जना घाइते भएको बताइएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इसराइलको सैन्य र हवाई अड्डालाई लक्ष्य गरेर आक्रमण गरिएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघमा इरानका राजदूत अमिर सइद इराभनीले इसराइली आक्रमण र त्यसले इरानमा पु¥याएको क्षतिबारे ब्रिफिङ गरेका थिए । उनका अनुसार इजरायली आक्रमणबाट इरानमा कम्तिमा ७८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इरानी सेनाका शीर्ष अधिकारीहरू पनि छन् । त्यस्तै ३२० जना नागरिकहरु घाइते भएको उनले संयुक्त राष्ट्रसंघमा बताएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भिडिओ सन्देश जारी गर्दै आक्रमण अझै बाँकी रहेको बताएका छन् ।
दुई महिनामा पनि इरानसँग आणविक सम्झौता हुन नसके हमला गर्नू भनेर ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुलाई भनेका थिए । सो दुई महिनाको समय जुन १२ मा सकिएको र इरानले आणविक हतियार कार्यक्रम रोक्ने सम्झौता गर्ने लक्षण नदेखिएकाले इजरायलले हमला गरेको मानिन्छ ।
इजरायल र अमेरिकाले इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन नदिने चेतावनी दिइरहेको बेला ट्रम्पले दोस्रो कार्यकालमा अप्रत्याशित रूपमा इरानसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए । ट्रम्पको नोबेल शान्ति पुरस्कार जित्ने उत्कट चाहना छ । रूस–युक्रेन युद्ध रोक्ने योजना सफल नहुने देखेपछि नोबेल पुरस्कारको आशमै ट्रम्पले इरानमाथि हमला नगरेर वार्ताको पहल गरेको कतिले अनुमान गरेका थिए ।
अहिलेका आणविक भट्टीहरू बन्द गरेर ऊर्जा निकाल्ने लगायत गैरसैनिक प्रयोजनका लागि साउदी अरेबिया लगायत देशहरूसँग संयुक्त आणविक कार्यक्रम चलाउनुपर्ने प्रस्ताव अमेरिकाले गरेको छ ।
सार्वजनिक रूपमा कुनै पनि हालतमा आणविक कार्यक्रम पूर्ण रूपमा बन्द नगर्ने बताए पनि अमेरिकाले प्रस्ताव गरेको संयुक्त आणविक कार्यक्रम इरानी भूमिमा सञ्चालन हुने हो भने इरानले मान्छ भनेर केही मिडियाले समाचार लेखेका थिए । कतिले त दबाब बढाउँदै लगे अरू देशमै सो कार्यक्रम चलाए पनि इरानले मान्छ भनेर अड्कल गरेका थिए ।
द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले बिहीबार इजरायलले इरानमाथि हमला गर्न सक्छ भन्ने अभिव्यक्ति दिँदा पनि इरानी सरकारले सम्झौताका लागि दबाब हाल्न मात्रै उनले त्यसो भनेका होलान् भन्ठानेको थियो । यसरी कडा अमेरिकी सर्त पनि मान्न लागेको अवस्थामा इरानमा इयरायलले किन आक्रमण ग¥यो भन्ने कुरा उठ्छ । यसको प्रस्ट उत्तर अहिले नै आइनसके पनि केही अनुमान भने गर्न सकिन्छ ।
इरानले बाहिर वार्ता गरेजस्तो गरेर भित्रभित्रै आणविक हतियार कार्यक्रम अघि बढाएर हतियार बनाउन लागेको इजरायलले दाबी गरेको छ । इरानले साँच्चै आणविक हतियार बनाउनै लागेको थियो भने इजरायलले त्यो रोक्न हमला गरेको हुन सक्छ ।
इरानले अहिले कमजोर भएको बेलामा कडा सर्त माने पनि बिस्तारै शक्ति सञ्चय गरेर फेरि आणविक हतियार कार्यक्रम अघि बढाउँछ भन्ठानेर इजरायलले हमला गरेको हुन सक्छ ।
सेनाको चेन–अफ–कमान्ड नै तोडिने गरी सेनाप्रमुखसहित वरिष्ठ जनरलहरूको पनि हत्या गरेकाले इजराइलले इरानमा सत्ता परिवर्तन नै खोजेको हुन सक्छ ।
अहिलेको इस्लामिक कट्टरपन्थीले आणविक हतियार बनाउन खोजेकाले अमेरिका लगायत पश्चिमा देशले कडा आर्थिक नाकाबन्दी लगाए । यस कारण प्रशस्त तेलखानी भए पनि इरानको अर्थतन्त्र धेरै कमजोर छ । सत्ता ढलेपछि नयाँ सरकारले आणविक हतियार कार्यक्रम सधैंका लागि बन्द गरेर आर्थिक विकासमा ध्यान दिन सक्ने सम्भावना हुन्छ । त्यसैले इरानमा सत्ता परिवर्तन हुने गरी इसराइलले हमला सुरू गरेको हुन सक्छ ।
त्यस्तै आक्रमण गरेपछि वार्तामा अहिलेको भन्दा इरानले अझ लचकता अपनाउँछ भन्ने आशामा पनि इसराइलले हमला गरेको हुन सक्छ । नेतन्याहुले व्यक्तिगत कारणले पनि इरानमा हमला गरेका हुन सक्छन्। हमासले सन् २०२३ अक्टोबरमा इसराइलमाथि आक्रमण गर्नु अघिदेखि नै उनीमाथि भ्रष्टाचारको छानबिन भइरहेको छ । उनी प्रधानमन्त्रीबाट हट्नेबित्तिकै उनी सो मुद्दामा जेल जान सक्ने सम्भावना छ ।
उनी प्रधानमन्त्रीबाट हटेपछि छानबिन आयोग बनेर हमासले गरेको हमला रोक्न नसकेको भनेर उनलाई दोषी ठह¥याउन सक्ने सम्भावना छ ।
लामो समय प्रधानमन्त्री भएपनि इतिहासले भ्रष्टाचारी र नरसंहार गर्ने आतातायीका रूपमा आफूलाई सम्झिने डरले उनले आफ्नो छवि उकास्न इरानमाथि हमला गरेका हुन सक्छन् । उनी भ्रष्टाचारी भएपनि उनले हमासको हमला रोक्न नसकेको भएपनि हमासलाई लगभग सिद्ध्याएका छन् ।
हमास र हिजबुल्लाहलाई चलाउने इरानी सत्ता पनि पल्टाएर इरानको खतरा सदाका लागि समाप्त पारे सबै कमजोरीका बाबजुद इजरायली इतिहासमा अमर हुनेछु भनेर पनि उनले आक्रमण गरेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले आकलन गरेका छन् ।