विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् ।
शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सदनबाट केही महत्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले सहमतिमा जानुपरेको बताए ।

‘अहिले हामीले एकातिर संघीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्नेछ, लाखौं शिक्षकहरुको माग अनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ’ अध्यक्ष प्रचण्डले भने, ‘टीआरसीसँग सम्बन्धित कयौं विषय अगाडि बढाउनुपर्ने छ । यस्तो बेलामा सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ ।’
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले चेतावनीको भाषा बोलेको विषयमा उनले त्यसको जिम्मेवार गृहमन्त्री नै हुने बताए । पुर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘सुशासनको निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो जोड रहन्छ । अध्ययन गहिरो गरी हुनुप¥यो, संरचना बन्नुप¥यो । त्यो कुरामा सहमति भएको छ ।’
उनले पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई भने इन्कार गरेका छन् । ‘यो वाहियात कुरा हो । त्यस्तो केही होइन । भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन ।’
दुई बुँदे सहमतिपछि माओवादी सत्तामा जान चाहेको हो ? भन्ने प्रश्नको पनि उनले खण्डन गरे । अहिले सत्तारुढ दलसँग भएको सहमति सत्तासँग सम्बन्धित नरहेको उनको भनाइ छ ।














