
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक प्राध्यापकहरूले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् । आंशिक प्राध्यापक सङ्घका अध्यक्ष गोकुल लिम्बूले ६-सूत्रीय माग राख्दै शुक्रवार तालाबन्दी गरिएको बताए ।
त्रिविले अनुसन्धानात्मक विशिष्टताको आधारमा (फास्ट ट्र्याक) १०० शिक्षकको विज्ञापन खुलाएको विरोधमा यो कदम चालिएको हो । फास्ट ट्र्याकको नाममा लिखित परीक्षा नलिई अन्तर्वार्तामार्फत उप-प्राध्यापक नियुक्त गर्ने नियतले खोलिएको विज्ञापन तत्काल खारेज गरी सबैलाई समान प्रतिस्पर्धाको संवैधानिक अधिकार सुनिश्चित गर्न माग तालाबन्दी गरिएको गोकुल लिम्बूले बताए ।
सङ्घले त्रिविलाई सीमित सङ्ख्याको विज्ञापन तत्काल रोकेर नियमअनुसार रिक्त दरबन्दी, आगामी ६ महिनाभित्र सेवा निवृत्त हुने शिक्षकको स्थानसहित कुल ५,२०३ दरबन्दीमा तत्काल विज्ञापन खोल्न माग गरेको छ ।
