Logo
Logo

शासन र निर्वाचन प्रणालीका कमजोरीमाथि बहस गर्न आवश्यक : सभामुख घिमिरे


315
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको शासन प्रणाली र निर्वाचन प्रणालीका कमजोरीहरूबारे गहन बहस र छलफल आवश्यक रहेको बताएका छन् । शनिवार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ को विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले निर्वाचन प्रणालीलाई निष्पक्ष, पारदर्शी र समावेशी बनाउनुपर्नेमा जोड दिँदै यसबाट निर्वाचित जनप्रतिनिधिहरूले स्थिर र परिणाममुखी शासन प्रणाली निर्माण गर्न सक्ने विधि खोज्नुपर्ने बताए । “निर्वाचनलाई निष्पक्ष, पारदर्शी र सहभागितामूलक बनाउनुपर्छ । त्यसबाट चुनिएका जनप्रतिनिधिहरूले शासन प्रणालीमा स्थिरता र परिणाममुखी काम गर्न सक्ने विधि के हुन सक्छरु यो विषयमा गम्भीर छलफल जरुरी छ,” उनले भने ।

उनले बहुमतीय प्रणालीमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सजिलो हुने भएकाले पूर्ण समानुपातिक प्रणाली वा अन्य वैकल्पिक विधिका बारेमा बहस गर्नुपर्ने उल्लेख गरे । “हाम्रो छलफल निर्वाचन पद्धति र शासन प्रणालीका बारेमा केन्द्रित हुनुपर्छ । पूर्ण समानुपातिक प्रणालीमा जानुपर्छ कि एकल विधिमा, यस्ता विषयमा गहन विवेचना आवश्यक छ,” उनले थपे ।

नेपालले समावेशी निर्वाचन प्रणालीमार्फत महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै सभामुख घिमिरेले दुईवटा आवधिक निर्वाचनको अनुभवले शासन र निर्वाचन प्रणालीका कमजोरीहरू उजागर गरेको बताए । “हामीले समावेशी प्रणालीमार्फत महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ, तर निर्वाचन प्रणालीका दोष, आचारसंहिताको पालना वा राजनीतिक दलहरूको भूमिकामा देखिएका समस्याहरूले शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन चुनौती खडा गरेको छ,” उनले भने ।

शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन निर्वाचन प्रणालीका कमजोरी, आचारसंहिताको कार्यान्वयन र राजनीतिक दलहरूको भूमिकामाथि गम्भीर छलफल जरुरी रहेको उनको भनाइ थियो । “शासन प्रणालीमा देखिएका समस्या निर्वाचन प्रणालीका दोष हुन् कि आचारसंहितासँग जोडिएका कुरा हुन्रु वा यो राजनीतिक दलहरूको भूमिकाको समस्या हो ? यी प्रश्नहरूको जवाफ खोज्न बहस अपरिहार्य छ,” सभामुख घिमिरेले जोड दिए ।

पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्ता छलफलले नेपालको शासन र निर्वाचन प्रणालीलाई थप सुदृढ र जनमुखी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्