काठमाडौं । दक्षिण अफ्रिकाले २७ वर्षको आईसीसी उपाधि खडेरी तोड्दै २०२५ को विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) को उपाधि जितेको छ । लर्ड्स क्रिकेट मैदानमा भएको फाइनलमा साबिक विजेता अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले ऐतिहासिक जीत हासिल गरेको हो । यो जीतसँगै दक्षिण अफ्रिकाले पहिलो पटक डब्ल्यूटीसीको उपाधि हात पारेको छ ।

खेलको चौथो दिन दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य पछ्याउँदै २१३/२ को स्थितिबाट ब्याटिङ सुरु गरेको थियो । ओपनर एडेन मार्करमले १३६ रनको शानदार शतकीय पारी खेल्दै टोलीलाई जीतको नजिक पुर्याए । कप्तान टेम्बा बाभुमाले ह्यामस्ट्रिङको चोटका बाबजुद ६५ रनको महत्त्वपूर्ण योगदान दिए । अन्तिममा काइल भेरेनले विजयी रन प्रहार गर्दै दक्षिण अफ्रिकालाई ऐतिहासिक सफलता दिलाए ।
दक्षिण अफ्रिकाले यो च्याम्पियनशिप चक्रमा १२ टेस्ट खेल्दै आठमा जीत हासिल गरेको थियो । पाकिस्तानविरुद्धको रोमाञ्चक दुई विकेटको जीतले उनीहरूलाई लर्ड्सको फाइनलमा स्थान पक्का गरेको थियो । खेलमा कागिसो रबाडाले पहिलो इनिङमा ५-५१ को उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियालाई २१२ रनमा समेटेका थिए । दोस्रो इनिङमा पनि रबाडा र लुंगी नगिदीको बलिङले अष्ट्रेलियालाई २०७ रनमा रोकेको थियो ।
दक्षिण अफ्रिकाका प्रशिक्षक शुक्रि कोनराडले टोलीको यो उपलब्धिलाई ‘नयाँ युगको सुरुवात’ भनेका छन् । ‘हाम्रो टोलीले विगतको बोझलाई बिर्सेर आफ्नै इतिहास रचेको छ,’ उनले भने । कप्तान बाभुमाले पनि टोलीको सामूहिक प्रयास र प्रशिक्षकको विश्वासले यो जीत सम्भव भएको बताए ।











