काठमाडौं । इजराइल र इरानबीच युद्ध चर्किएको छ । शुक्रबार इजरायलले इरानखमाथि आक्रमण गरेपछि इरानले जबाफी हमला सुरु गरेको थियो । तेस्रो रात पनि यी दुई देशबीच मिसाइल र ड्रोन हानाहान भएको छ ।
गएराति इजरायलले इरानको राजधानी तेहरानलाई लक्षित गरी आक्रमण गरेको छ । अमेरिकी मिडिया सिएनएनका अनुसार इजरायलले इरानको तेल भण्डार र रक्षा मन्त्रालय भवनमा हवाइ आक्रमण गरेको छ ।

इजरायली मिसाइल हमलाबाट तेहरानको उत्तरपश्चिममा रहेको तेल भण्डारमा आगो लागेको छ । आगो लागेको तस्बिर र भिडिओ पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।
तेल भण्डारमा आक्रमण गरेपछि इजरायली रक्षामन्त्री कत्जले इरान जलिरहेको भनेर एक्समा लेखेका छन् । इरानले पनि शरहन तेल भण्डारमा आक्रमण भएको बताएका छन् । इजरायली आक्रमणबाट त्यहाँ लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको पनि अधिकारीहरूलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमहरूले लेखेका छन् ।
इजरायलले इरानको रक्षा मन्त्रालय भवनमा पनि लक्ष्य गरेको सिएनएनले जनाएको छ । राजधानीमा रहेको मन्त्रालय भवनमा इसराइली हमलाबाट सामान्य क्षति पुगेको बताइएको छ । इजरायली राजधानी तेल अभिभ र जेरूसलेमका आकाशमा इरानी मिसाइल र ड्रोनहरू देखिएको र अधिकांश हमला एयर डिफेन्स सिस्टमले नष्ट गरेको भनिएको छ ।
इजरायलको उत्तरी सहरहरुमा इरानी हमलाबाट मानिसहरुको मृत्यु भएको र भवनहरू पूर्ण रूपमा ध्वस्त भएको सिएनएनले जनाएको छ। त्यहाँ उद्धार कार्यहरू चलिरहेका छन् । इजरायलले शुक्रबार बिहान साढे ३ बजे इरानमाथि ठूलो आक्रमण गरेको थियो । उसले इरानको आणविक भट्टी, हतियार कारखाना, उच्च सैन्य अधिकारी, आणविक बैज्ञानिक लगायत सेनाका भवनहरुमा २०० लडाकू विमानसहित ३ सय हतियारले आक्रमण गरेको थियो ।
इजरायलको आक्रमणबाट इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसरी प्रमुख सैन्य अधिकारीहरु नै मारिएपछि इरानी सेनाको चेन अफ कमान्ड नै ध्वस्त भएको छ । सर्वोच्च नेता आयातोल्लाह अल खामेनीले ब्रिगेडियर जनरल मोहम्मद पाकपोरलाई रिभोलुसनरी गार्डका प्रमुख नियुक्त गरेका छन् । बाघेरीको ठाउँमा मेजर जनरल सैयद अबदुलरहिम मौसावीलाई सेना प्रमुख र रसिदको ठाउँमा अली शदमानीलाई खताम अल अनबिया मुख्यालय प्रमुख नियुक्त गरेका छन् ।
त्यस्तै आणविक हतियार बनाउने वैज्ञानिकहरू पनि हमलामा मारिएका छन् । मोहम्मद मेहदी तेहराँची, फरदून अब्बासी, मोहम्मद इस्लामी लगायतका परमाणु वैज्ञानिकहरु इसराइली हमलामा मारिएका हुन् । इजरायलले इरानविरूद्धको हमलालाई अपरेशन लायन नाम दिएको छ । हमलाबाट कम्तिमा ८० जनाको मृत्यु र साढे तीन सय हाराहारीमा घाइते भएको बताइएको छ ।
इरानले इजरायलले हमला जारी राखे उसले अझै ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सुरक्षा समितिको बैठक बोलाएका छन् ।