काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले दुईबुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको बताएका छन् ।

सभामुख र प्रमुख सचेतकबीचको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परियारले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको र प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्षले गरेको सहमति ठोस र कार्यान्वयन गर्ने र न्याय दिने हिसावमा भएन । जुन तहको छानविन हुनुपर्ने हो त्यो अनुसार हुन सकेन । झारो टार्ने काम र हामीलाई झुक्याउने काम भयो । रास्वपाले सहमति गरेन । सभामा विवेक चाहिन्छ ।’ गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको पनि उनले बताए ।
उनले सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको र आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने बताए ।