काठमाडौं । नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक नचलाउन प्रतिपक्षी दलहरूले गरेको आग्रह नसुनी सभामुख देवराज घिमिरे अगाडि बढेका छन् । प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ र नाराबाजी गरिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आसनमा उभिएर विरोध गरिरहेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका उनीहरूले आजको बैठकमा पनि विरोध जारी राखेका हुन् । यद्यपी, सभामुख देवराज घिमिरेले उनीहरूको नाराबाजीका बीच संसद् बैठक सञ्चालन गरेका छन् ।
यस्तो अवस्थामा प्रतिनिधिसभाको बैठक अगाडि नबढाउन संसदबाटै नेकपा एकीकृत समाजवादी र राप्रपाले सभामुख घिमिरेलाई आग्रह गरे । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रतिनिधिसभाको बैठक रोकेर सहमतिको लागि पहल लिन आग्रह गरेका थिए । तर, सभामुखले मानेनन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न गरे, ‘सभामुखज्यु मैले राख्नुपर्ने केही पनि छैन । संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु के उचित हुन्छ रु’ संसद्मा विरोधका रहेका सांसदहरू जनताले जिताएका जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्ने उनले बताए । अन्यथा, विरोधका बीच संसद् चलाउनु दादागिरी हुने उनको आग्रह छ ।
राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरूले संसद्मा अवरोध गरिरहेको बेलामा संसद् बैठक चलाउन उचित नभएको बताएका थिए । उनले अर्थमन्त्रीले बजेट प्रस्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्त्वपूर्ण विषयहरूमा संसद्मा धारणा राख्ने तर प्रतिपक्ष दलहरू नाराबाजी गर्दै गर्दा सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताए । उनले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह गरे ।
तर, सभामुखले पाण्डे र शाहीको आग्रह मानेनन् । प्रतिनिधिसभामा आकस्मिक समय चलाएर सभालाई कार्यसूचीमा अगाडि बढाए । यस्तो अवस्थामा प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाए । त्यसपछि राष्ट्रिय सभाबाट पारित भएर पुगेको विधेयकको सन्देश सुनाए ।