Logo
Logo

इरानले अमेरिकामाथि आक्रमण गरे सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : डोनाल्ड ट्रम्प


4.5k
Shares

काठमाडौं । आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै भने, यदि इरानले संयुक्त राज्य अमेरिकामाथि कुनै आक्रमण गर्‍यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ को सामना गर्नुपर्नेछ । उनले इजरायलले इरानका आणविक र सैन्य संरचनालाई लक्षित गरी गरेको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको दोहोर्‍याए ।

इरानका अनुसार, शुक्रवार बिहान इजरायलले गरेको आक्रमणमा इरानी आणविक र सैन्य स्थलहरू निशानामा परेका थिए । यस कारवाहीमा शीर्ष सैन्य कमाण्डर र आणविक वैज्ञानिकसहित दर्जनौँको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आयातोल्लाह शासनका सबै लक्ष्य’ मा आक्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जवाफमा, इरानले इजरायलविरुद्ध घातक क्षेप्यास्त्र आक्रमण गरेको छ ।

ट्रम्पले इजरायली आक्रमणबारे पहिल्यै जानकारी प्राप्त भएको बताएका थिए । आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा उनले लेखे, “आज राति इरानमाथिको आक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता छैन ।” उनले भने, “यदि इरानले हामीमाथि कुनै पनि प्रकारको आक्रमण गर्‍यो भने अमेरिकी सशस्त्र बलको शक्ति यस्तो स्तरमा खनिनेछ, जुन इतिहासमा कहिल्यै देखिएको छैन। हामी इरान र इजरायलबीच सजिलै सम्झौता गराउन सक्छौँ र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ ।”

शुक्रवार ट्रम्पले इरानलाई सम्झौताको लागि आग्रह गर्दै, नभए इजरायलको ‘अझ क्रूर’ आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।

उनको पहिलो कार्यकालमा ट्रम्पले सन् २०१८ मा इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट अमेरिकालाई एकपक्षीय रूपमा बाहिर निकालेका थिए । उक्त सम्झौता पूर्वराष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको थियो । त्यसयता उक्त सम्झौता लगभग निष्क्रिय छ, र अमेरिकाले इरानमाथि कडा प्रतिबन्धहरू पुनः लगाएको छ।

प्रतिक्रिया दिनुहोस्