काठमाडौं । रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफ्नो पार्टीलाई बोल्न अवसर नदिएको आरोप लगाएका छन् । संसद् भवन, नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा आन्दोलनरत दल रास्वपालाई पहिले बोल्न दिने र त्यसपछि अन्य प्रक्रिया अघि बढाउने सहमति भएको दाबी गरे । तर, सभामुखले यो सहमति उल्लङ्घन गर्दै रास्वपालाई बोल्न नदिएको उनको भनाइ छ ।

झाले सभामुखले सदनको अभिभावकको भूमिका निर्वाह गर्न नसकेको र जबरजस्ती अघि बढ्ने व्यवहार देखाएको आरोप लगाए । उनले प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग अस्पष्ट सहमति गरेको कारण रास्वपाले आन्दोलनलाई निरन्तरता दिएको बताए ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि ठोस प्रक्रिया अघि बढाउने भनिए पनि स्पष्ट योजना नआएको भन्दै रास्वपा उक्त सहमतिमा सहभागी नभएको उनले प्रष्ट पारे । साथै, उनले संसद्को नियमावलीविपरीत कांग्रेस सांसदलाई आकस्मिक समयमा एक वर्ष पुरानो मुद्दामा बोल्न दिएकोमा आपत्ति जनाए ।














