Logo
Logo

सूर्य थापाको रास्वपाप्रति कटाक्ष : यो रत्नपार्क होइन, संसद् हो


882
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको नाराबाजीका बीच बजेटमाथिको छलफल जारी रहेको छ । यसै क्रममा नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसद्को मर्यादा कायम हुनुपर्ने भन्दै नियमापत्ति जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले आफ्नो धारणा राखिरहेका बेला सांसद थापाले प्रतिनिधि सभा नियमावली, २० को व्यवस्थाप्रति सभामुखको ध्यानाकर्षण गराए । उनले रास्वपाका सांसदहरूतर्फ इङ्गित गर्दै भने, “हामी रत्नपार्कमा छौँ कि, शहीद गेटमा छौँ कि, कलङ्कीमा छौँ कि, पोखराको चिप्लेढुंगामा छौँ, मैले बुझ्न सकिनँ । माननीय सांसदहरूका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीयहरूलाई भेट्न पाइरहेका छैनन् ।”

थापाको भनाइपछि रास्वपाका सांसदहरूले पुनः नाराबाजी सुरु गरे । यद्यपि, सभामुख देवराज घिमिरेले थापाको कुरामा ध्यानाकर्षण भएको बताउँदै उनलाई बस्न आग्रह गरे र बस्नेतलाई आफ्नो धारणा राख्न जारी राख्न निर्देशन दिए । सभामुखको निर्देशनपछि थापा बसे, र रास्वपाका सांसदहरू पनि चुपचाप आफ्नो स्थानमा फर्किए ।

सोमबारको बैठक सुरु भए लगत्तै रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसदहरू आ–आफ्नो स्थानबाट उठेका थिए । रास्वपाका सांसदहरू नाराबाजी गर्दै वेलमा पुगे भने राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिए । तथापि, सभामुखले बैठक नरोकेर बजेटमाथिको छलफललाई निरन्तरता दिएका छन् ।

बैठकमा उत्पन्न अवरोधका बाबजुद बजेटमाथिको छलफल जारी रहेको छ, र संसद्को मर्यादालाई लिएर सांसदहरूबिच तीव्र मतभेद देखिएको छ।

प्रतिक्रिया दिनुहोस्